स्पोर्ट-मनोरञ्जन

चलचित्र ‘अग्निदहन’ शुक्रबारबाट दर्शकमाझ आउने तयारीमा

काठमाडौं, मंसिर ५ । फिल्म ‘अग्निदहन’ यही शुक्रबारबाट दर्शकमाझ आउँदैछ । समाजमा बोक्सी हुँदैन भन्ने थिममा निर्माण गरिएको यो फिल्मप्रति अहिले सबैको चासो छ । फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्याय आफ्नो फिल्म बोक्सी प्रथा उन्मुलनका लागि निर्माण गरिएको बताउँछन् । ‘हामीले व्यावसायिक लाभका लागि फिल्म निर्माण गरेका होइनौं । यो विशुद्ध सामाजिक सन्देश समाजमा फैलाउन निर्माण गरेका हौं’, उनी भन्छन् ।

उनले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै फिल्ममार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए । ‘हामीले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ पुस्तक, ‘अग्निदहन’ उपन्यास र राष्ट्रियस्तरका ख्यातीप्राप्त गायकगायिका अञ्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेलका स्वरमा सामाजिक भिडियोहरु बनाएर जागरण चलायौं । अनि केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो फिल्म बनाएका हौं’, उनले भने ।

उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको दाबी गरे । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र सल्लाहमा आफूहरुले भोजपुरी र मैथिली भाषामा पनि फिल्म तयार पारेको खुलाए । ‘उहाँहरुले पूर्ण रुपमा मधेश प्रदेश र तराईका २२ वटा जिल्लामा अभियान चलाउनु होला भन्नु भएपछि भोजपुरी र मैथिली भाषामा पनि डबिङ गर्यौ’, उनले भने ।
केही समयअघि भारतको बिहारस्थित सितामढीमा यो फिल्म प्रदर्शन गरिएको थियो । उनले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने ।

दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदैछन् । उनीसँग फिल्मसँग सम्बन्धित रहेर गरिएको कुराकानीः–

अग्निदहनमा कसरी जोडिनुभयो ?
म ‘घामपानी’को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुपर्यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें । पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो । सामाजिक विषयमा फिल्म बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ । म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो । पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन् ।

ट्रेलर हेर्दा तपाईं ‘बोक्सी हुँदैन’ भन्ने मान्यता राख्नुहुन्छ । वास्तविकतामा तपाईंको मान्यता त्यही हो ? किन ?
म ‘बोक्सी’ हुँदैन भन्ने मान्यता राख्छु । मानिसमा मानसिक रोग हुन्छ । त्यो रोगलाई चिन्न नसकेर ‘बोक्सी’ अथवा अरु नै नाम राखिन्छ । पहिला पहिला डाक्टर र धामीझाक्रीले कोही मान्छे बिरामी भयो भने झारफुक गर्दा वा उपचार गर्दा उसको रोग चिन्न सकेनन् । रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले ।

तपाईंको बुझाईमा समाजमा साँच्चै बोक्सी छन् त ?
हरेक कुरामा वैज्ञानिक कुरा जोडिएका हुन्छन् । पहिला पहिला महिलालाई मानसिक रोग हुँदा धामीझाक्री र डाक्टरकहाँ लैजान्थे । ती महिलालाई मानसिक रोग लागेको छ भनेर कसैले भन्न सक्दैन थिए । अनि के भन्ने त भन्दा ‘बोक्सी’ शब्द प्रयोग गरे । खासमा महिलामा ‘बोक्सी’ समस्या होइन, उनीहरुमा मानसिक रोग देखिएको हो । धामीझाक्री र डाक्टरले के बिरामी हो भन्ने कुरा भन्न जानेनन् ।

महिलालाई बोक्सीको आरोप किन लगाइदो रहेछ ?
बोक्सी भन्ने कुरा मान्छेले आफैंले खडा गरेको चिज हो । मान्छे भित्र सबै चिज छ, तर त्यसलाई उसको दिमागले चिन्न सकेन । को मान्छे कस्तो बिरामी छ भन्ने कुरा दिमागले बुझ्न नसकेपछि ‘बोक्सी’लगायतका आरोप लगाइन्छ । मानसिक रोगको उपचार गर्नुपर्ने समयमा उनीहरुलाई अनेक यातना दिइने गरिन्छ । त्यो गलत हो । रोगको पहिचान गर्न नसक्नु नै हाम्रो कमजोरी हो ।