विविध

फोहोरमाथि बनाइएको करीब ४ सय मिटर सडकमा गाडी गुडाउन नसकिने भएर समस्या भएको : वातावरण तथा कृषि विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइट र निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइट बञ्चरे डाँडाको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । ‘तपाईँहरु त्यहाँको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ । हामी बञ्चरे डाँडा हस्तान्तरण कहिले होला भनेर पर्खिरहेका छौँ । फोहोरको स्थायी व्यवस्थापन यहीँ हुने हो । त्यस अघि नियमित प्रक्रियाबाट फोहोर उठाउँछौँ ।’

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । केही दिन अघिसम्म फोहोर बोकेर पुगेका गाडीलाई डोजरले ठेलेर माथिसम्म लैजाने गरिएको थियो । अहिले त्यसरी ठेल्ने ठाउँसम्म लैजानै सकिएको छैन । हामीले पूर्ण क्षमतामा काम गर्न नपाएकाले सडकमा फोहोर देखिएको हो ।’

विग्रिएको सडक सुचारु गराउन केही समय लाग्ने भएकाले त्यसबेलासम्म घर, व्यवसाय वा कार्यालयमा उत्पादन भएको फोहोर बाहिर ननिकालेर सहयोग गरिदिन प्रमुख शााक्यले महानगरबासीसँग अनुरोध गर्नुभएको छ । जैविक फोहोरलाई मल बनाउने विधि अपनाउन सके घरमा पनि दुर्गन्ध हुँदैन । अप्ठ्यारो परेको बेला नकुहिने फोहोर घरको कुनै ठाउँमा थुपार्दा पनि हुन्छ । प्रमुख शाक्यले भन्नुभयो, ‘यो समस्या साझा प्रयासबाट समाधान गर्न सकिन्छ । सडकमा जथाभावी फोहोर फालेर सहरलाई दृश्य प्रदुषण र दुर्गन्ध बढ्नबाट रोकौँ । हामीले बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेका छौँ ।’

समस्याको समाधानका लागि नेपाल सरकार, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयसँग छुट्टाछुट्टै र संयुक्त रुपमा समन्वयको प्रयास गरिरहेको अन्तरगतको सडक विभागसँग सहकार्य गरिरहेको प्रमुख शाक्यको भनाइ छ ।

सञ्चारकर्मीको टोलीसँगै सिसडोल पुग्नु भएका महानगरको वातावरण तथा कृषि विभागका प्रमुख हरिकुमार श्रेष्ठले सामान्य समयमा दैनिक १५० गाडी फोहोर पुग्ने साइटमा अहिले मुस्किलले ५० गाडी फोहोर पुग्न सक्ने भएपछि संकलनमा समस्या भएको बताउनुभयो । यसप्रकारको समस्या समाधान गर्न दीर्घकालीन साइटमा फोहोर पु¥याउन जरुरी छ । गएको बर्ष नै बञ्चरे डाँडाको निर्माण सम्पन्न हुने अपेक्षा थियो । तर भएन, अहिले पनि सकारात्मक उत्तर पाएका छैनौँ । श्रेष्ठको भनाइ छ ।

ल्याण्डफिल साइटमाथि निर्माण भएको करीव ४ सय मिटर सडकमा ट्रक लैजान सक्ने अवस्था छैन । त्यसैले भ्याली १ को क्षमता बढाएर व्यवस्थापन गरिरहेका छौँ । गाडी साइटमा पुग्न नसक्नु एउटा समस्या छँदैछ । अहिले स्थानीयले पनि अवरोध छ । भदौ ६ गते ककनी गाउँपालिका वडा १ की एक ७० बर्षिया महिलाको मृत्यु भएको थियो । स्थानीयले यो मृत्युलाई हैजाका कारणले भएको जनाउँदै क्षतिपूर्तिको माग राखेर भदौ १० गतेदेखि फोहोर लैजान अवरोध गरेका हुन् । वडाध्यक्ष चन्द्रबहादुर बलामीले यो कुरालाई पुष्टि गर्नुभयो ।

त्यसपछि हैजा फैलियो भनिएको ठाउँबाट पानी र दिशा संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लािग पठाइएको थियो । भदौ १३ गते प्राप्त रिपोर्ट अनुसार नमूनाहरुमा हैजाको जीवाणु देखिएको छैन । साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।

इञ्चार्ज श्रेष्ठले साइट व्यवस्थापनका विषयमा जानकारी दिँदै भन्नभयो, साइटमा पुगेको फोहोर छोप्ने माटोका लागि ४० रोपनी थप जग्गा लिजमा लिएका छौँ । सिसडोल आलेटार क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी जग्गा छ । पटक पटक क्षमता बढाएका कारण अब यसलाई बढाउने ठाउँ पनि छैन । महानगरको यो अन्तिम प्रयास हो । बञ्चरे नै हाम्रो अन्तिम विकल्प हो । सरकारले हामीलाई छिट्टै दिनुपर्छ ।

कथा ल्याण्डफिल साइटको

२०६२ साल जेठ २२ गते अर्थात् सन् २००५ जुन ५ तारिखका दिन विश्व वातावरण दिवसका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाउँ विकास समिति (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो । त्यस क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटको क्षमता ३ बर्ष क्षमता हुने अनुमान गरिएको थियो ।

त्यससमयमा काठमाडौं महानगर र तत्कालीन ललितपुर उपमहानगर (अहिले महानगर)बाट दैनिक ३७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो । यो परिणामलाई आँकलन गरेर ३ बर्षको क्षमता भनिएको थियो । सिसडोलमा फोहोर लैजान थालेपछिको पहिलो २ बर्ष भ्याली १ मा, दोस्रो २ बर्ष भ्याली २ मा, त्यसपछिको २० महिना आलेटारमा फोहोर व्यवस्थापन भयो । आलेटारको पनि क्षमता सकिएपछि ओखरपौवाको क्षमता बढाउँदै फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

शुरुवातको ३ बर्ष अवधिमा दीर्घकालीन ल्याण्डफिल साइट बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य थियो । तर लक्षित समयको १३ बर्षपछि अर्थात् अहिले २०७८ सालसम्म पनि बञ्चरे डाँडाको पूर्वाधार सम्पन्न भएको छैन । यसैको वरिपरि उपत्यकाको फोहोर व्यवस्थापनको सबै समस्या घुमिरहेको छ । दोष काठमाडौँ महानगरलाई आउने गरेको छ ।

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी — कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा सम्झौता भएपछिको तीनमहिनाभित्र ठेक्केदारलाई ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम भुक्तानी दिइयो । यसैविचमा ठेक्केदार कम्पनीको स्वामित्व परिवर्तन भएर कोशी एण्ड न्पौपानेको भयो । यहीकारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसन वापत् ठेक्केदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरणमा समस्या भयो । काम ढिलाइको समस्या यहीँबाट शुरु भएको हो । २०७६ पुस २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका (रिभाइज्ड बर्क सेड््युल) पेश ग¥यो । कोविडलगायत कारण छन् । कारण जे भए पनि तालिकाअनुसार पनि काम भएको छैन ।

फोहोरको वर्तमान परिमाण

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण तथा कृषि बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ ।

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेश्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरु फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौ स्थानमा परेका छन् ।

ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । काठमाडौंको शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ । विभागका प्रमुख श्रेष्ठकाअनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ् जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।