काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्तालाई खटाउने भएको छ । सार्वजनिक सूचनामार्पmत सूचीकृतका लागि प्राप्त ६० वटा निवेदनमध्ये ४० जनालाई सूचीकृत गरेर सहयोग लिने भएको हो । सूचीकृतहरुका लागि अभिमुखीकरण सम्पन्न गरिएको छ ।
महानगर क्षेत्रभित्र भएका सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्व भएका निजी तथा संस्थागत स्वामित्व भएका परम्परागत भवनहरुको संरक्षणका लागि महानगरले कार्यविधि बनाएको छ । घरधनीहरुलाई यसका विषयमा प्राविधिक ज्ञान नहुन सक्ने भएकोले भवन डिजाइन तथा निर्माणमा कम्तीमा १० बर्ष अनुभव भएका आर्किटेक्ट र सिभिल इञ्जिनियरहरुलाई सहजकर्ताका रुपमा खटाइने भएको हो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा बस्ती कसरी बसाउने भन्ने विषयमा हामीले लामो छालफल गरेका छौँ । एकीकृत बस्तीको कुरा उठाएका छौँ । बसन्तपुरबाट दक्षिण भेगका ६३० वटा घरको अध्ययन गरेर प्रारम्भिक रुपमा ५४ घर एकीकरण गर्ने, सहरी सेवा सुविधा पु¥याउने योजना बनायौँ । टेका लगाएका घर हटाएर सबै घरमा उज्यालो पुग्ने, मोटर पुग्ने, एकीकृत सहरी सेवा पु¥याउने योजना बनायौँ । २०७२ सालको भूकम्पपछि यसको अझ चर्चा भयो । तर कार्यान्वयन जाने बेला सम्पत्तिको हक सुरक्षाको सवाल आयो । त्यसलाई जवाफ दिने कानून भएन । काम अगाडि बढाउन सकिएन ।‘
‘राज्यले गर भनेर मात्र हुँदैन । गर्नका लागि सहयोग गर्नुपर्छ भनेर हामीले मौलिक भवन बनाउन मापदण्डका आधारमा अनुदान दिने कार्यविधि बनाएका छौँ ।’ मेयर शाक्यले भने, ‘सकिँदैन हुँदैन भनेर होइन गर्न सकिन्छ भनेर अगाडि बढौँ । नीतिलाई व्यवहारिक बनाउन तपाईँको केही सुझाव छ भने दिनोस्, हामी ग्रहण गर्छौँ । हामी हाम्रा नीति कार्यान्वयनमा तपाईँको सहभागी भएको हेर्न चाहन्छौँ । काठमाडौँको मौलिकता बचाउन हामी निजी भवनहरुलाई पनि अनुदान दिन्छौँ । महानगरबाट सहयोग लिएर काठमाडौँको मौलिकता यथावत राख्ने काममा सहयोग गर्न म सम्बन्धित सबैमा अनुरोध गर्छु ।’
‘अहिलेका जनप्रतिनिधिलाई सांस्कृतिक मौलिक सहर बनाउने जिम्मेवारी प्राप्त भएको छ । यो अवसर हो ।’ कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘सम्पदा क्षेत्रलाई कोलाहलमुक्त, विकृतिमुक्त बनाउन कठिन छ । अन्य नगरजस्तो काठमाडौँको व्यवस्थापन सजिलो छैन । हामीले काठमाडौँको मौलिक संरचनालाई जोगाएर सांस्कृतिक पर्यटकीय सहर बनाउने प्रयास थालेका छौँ । यसले स्थानीय अर्थतन्त्रको हरेक चक्रमा सहयोग गर्छ । यसमा भित्री सहरी क्षेत्रमा बसोबास गर्ने घरधनीबाट सहयोग चाहिएको छ ।’
‘सहरका मध्यभागमा भएका टेको लगाएका पुराना घरहरु, थोरै जग्गामा बनेका जीविकोपार्जन हुन नसक्ने घरहरु पनि छन् । यसबेला सहरको मौलिकता बचाउने, समाजलाई जीवन्त बनाउने र सुन्दरता बचाउने कुरालाई ध्यानमा राखेर योजना बनाउनु पर्छ ।’ अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भने, ‘मौलिकता बचाएका सहरहरुको सीप, कला र क्षमता सिकेर थप केही गर्न सकिन्छ । यसबेला एउटा मात्र पक्षलाई भन्दा एकीकृत पक्षमा ध्यान पुग्न आवश्यक छ ।’
महानगरपालिका मौलिक सहरलाई पुनजीर्वित बनाउने अभियानमा छ । सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन भन्छन्, ‘एकीकृत बस्ती किलाः घ मा सुरु गरेका हौँ । त्यहाँ अहिलेको संरचना भनेको एउटाको भ¥याङ्, अर्कोको चोटा, अर्कोको बुइँगल हुन्छ । पुर्खाले सम्पत्ति र मौलिकता नबेचुन भनेर यस्तो व्यवस्था मिलाएका हुन् । एकीकृत आवास बनाउने बेला सम्पत्तिको हकको कुरा उठ्यो । त्यसलाई सम्बोधन गर्ने कानून नभएपछि कामले गति लिन सकेन ।’
‘वडा १८ मा एकीकृत आवास बनाउने योजनामा अनुदान कसरी दिने? कति दिने? महानगर कसरी सहभागी हुन्छ? घरधनीको योगदान कति लिने जस्ता विषयमा अन्यौल भएपछि महानगरले परम्परागत भवनलाई मौलिक स्वरुपमा पुननिर्माण गर्दा दिइने अनुदान सम्बन्धी कार्यविधि बनाएका छौँ ।’ सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्छन्, ‘भवन पुननिर्माणको प्राविधिक पक्षमा काम गर्नका लागि हामीले सार्वजनिक सूचनामार्पmत करीव ४० जना आर्किटेक्ट, इञ्जिनियरलाई प्राविधिक सहजकर्ताका रुपमा लिएका छौँ । उनिहरुलाई लक्ष्यमा प्रष्ट पारेर मौलिक भवन पुननिर्माणलाई व्यापक रुपमा अगाडि बढाउँछौँ ।’
सम्पदा भवन संरक्षणविज्ञ रविन्द्र पुरी भन्छन्, ‘काठमाडौँ महानगरपालिकाको सम्पदा भवन निर्माण तथा संरक्षण सम्बन्धी मापदण्ड उत्कृष्ठ बनेको छ । यसको कार्यान्वयनबाट महानगरको भित्री सहरी क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ ।
आजभन्दा ५० बर्षअघिसम्म काठमाडौँ उपत्यका संसारकै सबैभन्दा ठूलो सम्पदा क्षेत्र भएको ठाउँ थियो । त्यसलाई बचाउन सकेको भए आज हाम्रो पहिचान अलग्गै हुन्थ्यो । पुरीले भने, ‘विगत १६ बर्षदेखि २५ वटा सम्पदा क्षेत्र विश्व सम्पदा क्षेत्र हुने सूचीमा सूचीकृत भएर बसेका छन् । तिनका लागि केही गर्न सकिएको छैन । अब पुरानो सहरलाई पुनस्र्थापना गर्नुपर्छ भन्ने दृष्टि राख्नुपर्छ ।’ सूचीकृत सहजकर्तालाई महानगरले के गर्न खोजेको हो? कस्तो परिणाम अपेक्षा गरिएको छ भन्ने जानकारी दिनु अभिमुखीकरणको मुख्य उद्देश्य हो । उपनिर्देशक श्रृजु प्रधान भन्छन्, सम्पदा भवन पुननिर्माणका लागि नयाँ आशा बोकेर काम थालेका छौँ ।
अभिमुखीकरणमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले, ‘सम्पदा भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ का विषयमा, सम्पदा तथा भवन संरक्षण विज्ञ, सूर्यभक्त सांगाछेले, ‘सहरी भवन पुननिर्माण र आगामी दिशा’ का विषयमा प्रस्तुति गरेका थिए । यसैगरी सहरी योजनाविद नीलिमा थापा श्रेष्ठले ‘काठमाडौँको सांस्कृतिक भू बनावट’ का विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस्तै किला घः को घर नक्साका बारेमा युएन ह्याविट्याटका प्रवीण बज्राचार्य र एकीकृत सहरी विकास केन्द्रका द्रोण कोइरालाले संयुक्त प्रस्तुति गरेका थिए ।
Add Comment