स्पोर्ट-मनोरञ्जन

टीम इन्डियाद्वारा इंग्ल्यान्ड १० विकेटले पराजित

लन्डन । तीन एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले इंग्ल्याण्डलाई १० विकेटले पराजित गरेको छ । भारतले इंग्ल्याण्डलाई १० विकेटले हराएको यो ४८ वर्षमा पहिलो पटक हो । भारतले पहिलो पटक सन् १९७४ मा बेलायतविरुद्ध ओडीआई खेलेको थियो।

भारतले टस जितेर पहिले बलिङ रोजेको थियो र जसप्रित बुमराह (१९/६) को करियरको उत्कृष्ट प्रदर्शनका कारण इङ्ल्यान्डलाई २५.२ ओभरमा ११० रनमा सीमित गरेको थियो । यो इंग्ल्याण्डको भारत विरुद्धको अहिलेसम्मकै कम स्कोर हो । बुमराह इंग्ल्याण्ड विरुद्धको एकदिवसीय खेलमा बलिङ गर्ने उत्कृष्ट भारतीय बलर पनि बने । उनले आशिष नेहराको १९ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । २००३ को विश्वकपमा नेहराले इंग्ल्याण्ड विरुद्ध ६/२३ लिए।

जवाफमा भारतले १८.४ ओभरमा ११४ रन बनाएर खेल जित्यो । रोहित शर्माले ५८ बलमा सर्वाधिक अविजित ७६ रन बनाए । शिखर धवनले ५४ बलमा ३१ रन बनाए । रोहितले आफ्नो इनिङ्समा ७ चौका र ५ छक्का प्रहार गरे । उनको स्ट्राइक रेट १३१ थियो ।