काठमाडौं। साउन ४ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले भने, ’नेपाली युवाहरुलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातवरण बनाउनुपर्दछ।नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनु नै मुख्य चुनौती हो। यसबारे सबै सरोकारवालाले गम्भीर भएर लाग्नुपर्दछ ’ मन्त्री चौधरीले युवा शक्तिलाई परिचालन गर्न सकेमात्र मुलुकले समृद्धिको पाइला चाल्न सकिने जिकिर गरे।उनले युवा जनशक्तिको वढ्दो पलायनमा चिन्ता व्यक्त गरे । ’ नेपाली युवाहरू दिनदिनै एयरपोर्टबाट विदेश उडिरहेका छन्,’ मन्त्री चौधरीले चिन्ता व्यक्त गर्दै भने, ’युवा पलायन किन भइरहेका छन्, यसबारेमा सोच्न् बेला आएको छ ।’
कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको अपेक्षाका तुलनामा बजेट अपर्याप्त रहेको बताए । बस्नेतले कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत जनसङ्ख्या युवाको रहेकाले युवाको सवाल र समस्यालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि कार्यविधि संशोधन गरेर युवा उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी समेत गराए ।
कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालय र परिषदबीच समन्वय गरी युवाक पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताए । कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख दिनेश घिमिरले परिषदकातर्फबाट भएका कामसहित नयाँ आर्थिक वर्षमा गरिने कार्यक्रम र योजनाको विस्तृत रिपोर्ट पेश गरेका थिए ।
Add Comment