काठमाडौं । Gen-Z 2.0 (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “नेपालले तपाईंलाई पर्खिरहेको छ — तपाईंको आवश्यकता छ” भन्ने सन्देशसहित अध्ययन र रोजगारीका लागि विदेश प्रस्थान गर्न लागेका आम नेपालीहरूलाई फूलमाला र शुभकामना सहित प्रतीकात्मक विदाइ कार्यक्रम सम्पन्न गरेको छ।
यस अवसरमा अभियानका प्रतिनिधिहरूले “तपाईंको ज्ञान, सीप र मिहिनेतले यो देश बन्न सक्छ — फर्किएर नेपाल बनाऔँ”, “देश तपाईं बिना अधुरो छ — फर्क, हामीसँगै देश बनाऔँ”, “नेपालको माटो तपाईं बिना शून्य छ — फर्क र फेरि चमक देऊ” जस्ता प्रेरणादायी सन्देशहरू प्रदर्शन गरेका थिए।
अभियानका प्रवक्ता अरविन राईले भने, “हामी नेपालीहरूको क्षमता र योगदान विदेशमा मात्र होइन, आफ्नै मातृभूमिमा पनि देश निर्माणको मेरुदण्ड बन्न सक्छ। Gen-Z 2.0 ले हरेक नेपालीलाई फर्किएर योगदान दिने प्रेरणा दिइरहेको छ।” त्यसैगरी सदस्य सचिव कुन्दन कुशवाले भने, “नेपाल अहिले नयाँ पुस्ताको हातमा पुनर्जागरणको बाटोमा छ। यो अभियान एकताको, आशाको र पुनर्निर्माणको प्रतीक हो।”
Gen-Z 2.0 अभियानले यसअघि “नेपाल सबैका लागि सधैं खुला छ” भन्ने सन्देशसहित विदेशी पर्यटकहरूलाई स्वागत कार्यक्रम गरेको थियो। अभियानले राष्ट्रिय भेला, सहित तथा घाइते परिवारहरूलाई राहत वितरण, तीनकुने चोकलाई “जेन्जी चोक” नामाकरण, विभिन्न विज्ञहरूसँग अन्तरक्रिया, र विखण्डित देशभक्त समूहहरूलाई एकताबद्ध गर्ने कार्यहरू पनि निरन्तर गरिरहेको छ।
यो अभियानका परिकल्पनाकार तथा संरक्षक डा. हरि कार्की रहेका छन्, जसको नेतृत्वमा Gen-Z 2.0 ले देशभक्त युवाहरू, विशेषज्ञहरू र नागरिक आन्दोलनहरूलाई एउटै राष्ट्रिय भावनामा बाँध्ने अभियानलाई सशक्तरूपमा अघि बढाइरहेको छ।
Gen-Z 2.0 — सबै पुस्ताको सारथी, नयाँ नेपालको यात्रामा।
Add Comment