विविध

ट्रक दुर्घटनापछि आगलागी हुँदा, चालकको मृत्यु

काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएको थियो। त्यसलगत्तै ट्रकमा आगलागी भएको हो।

आगो लागेपछि चालक भोजपुरका ३० वर्षीय विशाल राई ट्रकबाट बाहिर निस्कने प्रयास गरेका थिए। तर आगोले गम्भीर रूपमा जलेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ का १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन्।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले आवश्यक उद्धार तथा अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।