काठमाडौं । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
डाँडागाउँबाट दशरथपुरतर्फ जाँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको माया नर्सिङ होम, सुर्खेतमा उपचार भइरहेको छ भने अन्य केहीको दशरथपुर नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लेकबेशी–६ की २२ वर्षीया सुष्मा कार्कीको अवस्था गम्भीर छ। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
दुर्घटनाग्रस्त जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment