काठमाडौं । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी म्यागेजिन टाइमले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्।
जलवायु परिवर्तनका क्षेत्रमा प्रभाव पारिरहेका विश्वभरका नेता तथा व्यक्तित्वलाई समेटेर सार्वजनिक गरिएको ‘टाइम १०० क्लाइमेट २०२६’ सूचीमा वाग्लेलाई नेपालको जलवायु जोखिम र अन्तर्राष्ट्रिय जलवायु क्षतिपूर्तिको मुद्दा विश्वमञ्चमा उठाउन खेलेको भूमिकाका आधारमा समावेश गरिएको हो।
गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा गरेको पैरवीलाई टाइमले आफ्नो परिचयात्मक सामग्रीमा उल्लेख गरेको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनको असर भने नेपालजस्ता विकासशील तथा पर्वतीय मुलुकले बढी भोग्नुपरेको विषयलाई उनले निरन्तर उठाउँदै आएका छन्।
बाढीपछि नेपालले चीन, अमेरिका र भारतसँग जलवायुजन्य विपद्बाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग तथा क्षतिपूर्तिको माग गरेको थियो। पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ।
वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘लस एन्ड ड्यामेज फन्ड’मार्फत नेपाललाई सहयोग उपलब्ध गराउन पनि पहल गरेका थिए। संयुक्त राष्ट्रसंघले अक्टोबर २२ मा उक्त कोषबाट नेपालका लागि २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको छ।
वाग्लेको यो अन्तर्राष्ट्रिय पहिचान जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) सुरु भइरहेका बेला सार्वजनिक भएको हो। टर्कीको आन्ताल्यामा जारी सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलनका लागि सहयोग तथा पर्वतीय मुलुकले भोगिरहेका जलवायुजन्य जोखिमलाई अन्तर्राष्ट्रिय प्राथमिकतामा राख्न पैरवी गरिरहेको छ।
‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्लेसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत अन्तर्राष्ट्रिय व्यक्तित्व पनि समेटिएका छन्।
यस सूचीले जलवायु परिवर्तनका असर, जलवायु न्याय र अन्तर्राष्ट्रिय वित्तीय सहयोगका विषयमा नेपालको आवाजलाई विश्वस्तरमा थप परिचित गराएको छ।