काठमाडौं । विश्वभरका गेमप्रेमीले लामो समयदेखि प्रतीक्षा गरिरहेको चर्चित भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ (GTA 6) आगामी नोभेम्बर १९ मा सार्वजनिक हुने भएको छ।
गेम निर्माण कम्पनी रकस्टार गेम्सले आधिकारिक रूपमा नोभेम्बर १९, २०२६ लाई रिलिज मिति तोकेको हो। कम्पनीका अनुसार यो गेम प्लेस्टेसन ५ (PS5) र एक्सबक्स सिरिज एक्स तथा एस (Xbox Series X|S) मा उपलब्ध हुनेछ।
करिब १३ वर्षपछि सार्वजनिक हुन लागेको GTA सिरिजको नयाँ संस्करणलाई यस वर्षका सबैभन्दा प्रतीक्षित भिडियो गेममध्ये एक मानिएको छ। यसअघि GTA 5 सन् २०१३ मा सार्वजनिक भएको थियो। नयाँ संस्करणमा आधुनिक प्रविधि, विस्तृत खुला संसार र नयाँ पात्रहरूसहित गेमिङ अनुभवलाई थप विकसित बनाइएको कम्पनीले जनाएको छ।
जेसन र लुसियाको कथामा आधारित
GTA 6 को कथा अमेरिकाको काल्पनिक राज्य लियोनिडा र त्यहाँको चर्चित सहर भाइस सिटीमा आधारित छ। गेमका मुख्य पात्र जेसन डुभाल र लुसिया क्यामिनोस हुन्। उनीहरूको आपराधिक योजनाबाट सुरु हुने कथा क्रमशः ठूलो षड्यन्त्रमा जोडिँदै जानेछ।
गेममा अपराध, प्रेम, विश्वासघात र सामाजिक व्यङ्ग्यलाई कथाको मुख्य पक्षका रूपमा प्रस्तुत गरिएको छ। भाइस सिटीको आधुनिक परिवेश, समुद्री क्षेत्र, सडक, सवारीसाधन तथा विभिन्न गतिविधिले गेमको खुला संसारलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
रिलिजअघि नै प्रि–लोड सुरु
रकस्टार गेम्सले नोभेम्बर १० देखि डिजिटल रूपमा गेम प्रि–अर्डर गरेका प्रयोगकर्ताका लागि प्रि–लोड सुविधा उपलब्ध गराएको छ। यसबाट प्रयोगकर्ताले रिलिजअघि नै गेम डाउनलोड गरेर सार्वजनिक हुने दिन खेल्न तयार रहन सक्नेछन्।
कम्पनीका अनुसार GTA 6 नोभेम्बर १९ मा सम्बन्धित क्षेत्रको स्थानीय समयअनुसार मध्यरातमा सार्वजनिक हुनेछ। प्लेस्टेसन ५ र एक्सबक्स सिरिज एक्स तथा एसका लागि गेम उपलब्ध हुनेछ। एक्सबक्स क्लाउड गेमिङमार्फत एक्सबक्स वनमा पनि खेल्न सकिने व्यवस्था गरिएको छ।
यसैबीच, गेम सार्वजनिक हुनुअघि नै यसको प्रि–अर्डर र बजार सम्भावनाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ। गेमको सफलताले भिडियो गेम उद्योगमा नयाँ व्यावसायिक कीर्तिमान कायम गर्न सक्ने अनुमान गरिएको छ।
GTA सिरिजका अघिल्ला संस्करणले विश्वभर ठूलो लोकप्रियता हासिल गरेका कारण नयाँ संस्करणप्रति पनि गेमप्रेमीको चासो उच्च देखिएको छ।