काठमाडौँ, २० वैशाख विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताउनुभयो ।
नयाँ कानून बनाउन लाग्दा धेरै नै प्रेस स्वतन्त्रता हनन् गर्ने कोसिस राज्यले गरिरहेकाले त्यस्ता कानून बनाउन लाग्दा सचेत हुनुपर्ने उहाँको भनाइ रहेको थियो । अध्यक्ष आचार्यले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउनका लागि सञ्चारमाध्यमले आफैँ अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख गरेपनि कार्यान्वयन गर्न ऐन कानून बन्न नसकेको बताउनुभयो ।
उहाँले प्रेस स्वतन्त्रताको अवस्था सुधारोन्मुख भएपनि अझै पत्रकारमाथि भौतिक आक्रमणका घटना नरोकिएको बताउनुभयो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले पत्रकारमाथि आक्रमण गर्नेमाथि कारबाही नहँुदा दण्डहीनता बढेको बताउनुभयो । प्रभातफेरीमा महासंघको भक्तपुर शाखासहितका पत्रकारको उपस्थिति रहेको थियो । आज मे ३ तारिख विश्वभर नै प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।
प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि : विराटनगर, विश्व प्रेस स्वतन्त्रता (मे ३) दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरिको आयोजना गरियो । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित उक्त प्रभातफेरि नगरको मुख्य मुख्य भागको परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो । उक्त प्रभातफेरीमा सञ्चारकर्मी, विभिन्न मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सुसूचित गर्ने सञ्चारकर्मीको वृत्ति विकासमा महानगरपालिका सदैव सहयोगी हुने बताउनुभयो । महासंघका मोरङ कार्यबाहक अध्यक्ष कुमोद अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सञ्चारकर्मी विवेक गौतम, विक्रम लुइँटेल र श्यामसुन्दर सुतियारले समाचार संकलनको क्रममा भोग्नु परेको कठिनाइका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
निलम्बित वरिष्ठ उपरीक्षक लोहनीमाथि कारबाहीको माग : यसैगरी नेपाल पत्रकार महासंघ मोरङले नेपाल प्रहरीका निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति घोर भत्र्सना गरेको छ । सुन गायव र सनम शाक्यको हत्याको सम्बन्धमा बुधबार जिल्ला अदालत मोरङमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी अन्नतराज न्यौपाने, ध्रुव भट्टराई, अनिल श्रेष्ठ र सुमन सुस्केरालाई लोहनीले अश्लिल गाली गर्दै लात्तीले हान्ने प्रयास गरेको सो संघका उपाध्यक्ष कुमोद अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गम्भीर अपराधका घटनामा मुछिएका अभियुक्तद्वारा अदालतको परिसरमै भएको यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै महासंघले सरकारसँग लोहनीमाथि थप कारबाहीको माग गरिएको छ ।
Add Comment