काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न खोजिरहेकाले अब आन्दोलन गर्न नपर्ने आश्वस्त पार्नुभएको महासंघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले आफूहरुले श्रम ऐनको कार्यान्वयन हुनुपर्ने, श्रमिकको तलब वृद्धि हुनुपर्ने, विगतका सहमतिको पालना हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
ओली र प्रचण्डबीच छलफल : पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उहाँहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो ।
Add Comment