विविध

धर्मले समाजलाई शान्त राख्छ : दाहाल

चितवन, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धर्मले समाजलाई शान्त राख्दै मानिसलाई निष्ठावान् बनाउन मद्दत गर्ने बताउनुभएको छ । गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञलाई आज तनहुँको देवघाटमा सम्बोधन गर्दै उहाँले अध्यात्मले विकृति र विसंगति हटाउनका लागि ठूलो मद्दत गरेको बताउनुभयो । उहाँले भन्नुभयो “ सकारात्मक चिन्तनले समाजमा शान्ति हुने र नकारात्मक चिन्तनले समाज विघटनतिर जान्छ ।”
अध्यक्ष दाहालले देवघाटका आश्रमलाई विश्वस्तरको बनाउन आवश्यक रहेको बताउँदै महायज्ञले यहाँको धार्मिक पर्यटन विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाङ्ग विद्यालय भवनको शिलान्याससमेत गर्नुभयो ।कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेकपा (माओवादी)का नेता नारायण दाहाल, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेल, बद्री तिमिल्सिनालगायतले बोल्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उद्घाटन गर्नुभएको महायज्ञ आगामी फागुन २ गतेसम्म चल्नेछ ।