डोटी : जिल्लामा पछिल्लो समय कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ ।
विदेश तथा सरकारी जागिर मात्र होइन आफैँ उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिने भन्दै यहाँका युवा सोप्रति आकर्षित हुन थालका हुन । शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहिक बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । डोटी बहुमुखी क्याम्पसबाट राजनीति शास्त्रमा स्नाकोत्तर गरेर अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत रहनुभएका उहाँले आय आर्जन गर्न उक्त व्यवसाय रोजेको बताउनुभयो ।
सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट विनाब्याज रु पाँच लाख ऋण लिएर उहाँले बाख्रापालन गर्नुभएको हो । उहाँले युवा समितिमार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्रगतिशील कृषक समूहबीच सहकार्य गरेर व्यावसाय सुरु गरेको बताउनुभयो । जमुनापारी क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्ष समेत रहनु भएका बोहरा बाख्रापालन व्यवसाय सुरु गर्न पाएकोमा खुशी हुनुहुन्छ ।
त्यस्तै सोही कृषक समूहका दलबहादुर बोहराले पनि बाख्रापालन गरिरहनुभएको छ । युवा समितिले युवा उद्यम कार्यक्रम अन्तर्गत गत वर्ष जिल्लाका दुई उद्यम समूहलाई आर्थिक सहयोग गरेको समितिका कम्प्युटर अपरेटर गणेश मल्लले जानकारी दिनुभयो । समितिले बाख्रापालन मात्र नभएर आधुनिक सीप विकास मञ्च लामीखालमा खुकुरी, चक्कु, चुलेसी निर्माण व्यवसायका लागि पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो ।
युवा समितिले लगानी गरेका उद्यम समूहले सन्तोषजनक काम गरेको र जिल्लामा बेरोजगार एवं अनुत्पादक भएर बसेका युवाले पनि आय आर्जनमूलक व्यवसाय गर्नुपर्नेमा समितिका अध्यक्ष बमबहादुर बमले बताउनुभयो ।
सुन्तलाले बजार पाएन
अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् ।
सुन्तलाले बजार नपाउँदा चिन्तामा परेको निरौलीका कृषक हर्क साँउदले बताउनुभयो । उहाँले मात्रै करिब तीन रोपनी जमीनमा सुन्तला लगाउनुभएको छ । बजारमा अझै पनि सुन्तलाको उचित मुल्य आइ नसकेको र आफूहरु बजारकै खोजीमा रहेको उहाँले बताउनुभयो ।
बजार व्यवस्थापन र शीत भण्डारको अभावले यहाँका सुन्तला उत्पादक किसानहरु मर्कामा पर्ने गरेका छन् । विगतका बर्षमा यहाँका किसानका बारीमै सुन्तला किन्न आउने भएपनि यो बर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको गड्सेराका कृषक लिलाधर बिष्टले बताउनुभयो । जिल्लाको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँमा सुन्तला खेती गरिन्छ । – रासस
Add Comment