झापाको बेलडाँगीमा घरायसी विवादले लियो तीनमहिने शिशुको ज्यान

झापाको बेलडाँगीमा घरायसी विवादले लियो तीनमहिने शिशुको ज्यान

दमक । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाका शिशुको मृत्यु भएको छ।

प्रहरीका अनुसार असोज २३ गते दिउँसो करिब १ः२० बजे शिविरको सेक्टर डी–२ मा मनबहादुर तामाङको परिवारभित्र घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा ६८ वर्षीय मनबहादुर, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच झैँझगडा भएको जनाइएको छ।

सोही क्रममा मनबहादुरले बुहारी बिमलामाथि कुटपिट गरेको र उनको काखमा रहेका तीन महिनाका छोरा सामेल तामाङलाई भित्री चोट लागेको प्रहरी विवरणमा उल्लेख छ।

घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो २ः०५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि मनबहादुर, आशा, फुर्बा सिंह र बिमलासहित चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply