कञ्चनपुर : बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ ।
माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताउनुभयो । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उहाँले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आउनुभएको छ । भारतमा मात्रै यस बर्ष उहाँले ५० क्वीन्टल माछा बिक्री गरेको बताउनुभयो ।
भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहनलगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन् । राना जिल्लामै सफल माछापालकका रुपमा परिचित हुनुहुन्छ ।
बिक्री भएका माछा बाट उहाँले बार्षिक रुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले १३ वटा पोखरीमा माछापालन गर्नुभएको छ । पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र गरी एक दर्जन प्रजातीका माछापालन गरिएका छन् । पंगासियस र रुपचन्द्र माछा भारतमा मात्रै उत्पादन गरिने भएपनि उहाँले दुई बर्षदेखि भुरा ल्याएर पोखरीमा हुर्काई बेच्न शुरु गर्नुभएको छ । नेपाली बजारमा दुवै जातका माछाको बढी माग रहेको छ ।
माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस बर्ष बैङ्कबाट रु एक करोड ऋण लिएर थप सात वटा पोखरी निर्माण गर्नुभएको छ । माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखिएका छन् । माछाको आहाराका लागि मात्रै रु ४० लाख खर्च गरिएको उहाँले जानाकारी दिनुभयो ।
रानाले माछाका भुरा रु चार सय ५० प्रति किलो र खानका लागि प्रयोग हुने माछा रु दुई सय देखि रु तीन सय प्रति किलो थोकमा बिक्री गर्दै आउनुभएको छ । उहाँले जिल्लामा भारतीय माछा विस्थापन गर्न अरु किसानलाई माछापालनमा लाग्नसमेत आग्रह गर्नुभएको छ । उहाँले पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको समेत व्यवस्था गर्नुभएको छ ।
पोखरीमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटकको आकर्षण बढाउने उहाँको योजना छ । पोखरीकै माछा बेचेर रानाले बेलौरी बजारमा घरघरेडी जोड्नुका साथै तीन विघा जग्गा समेत खरिद गर्नुभएको छ । उहाँले तीस जनालाई रोजगारी समेत दिनुभएको छ । -रासस
Add Comment