Uncategorized

अनशनकारी प्राडा केसी र थापालाई काठमाडौँ लगियो

भद्रपुर । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ । प्राडा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई बताउनुभयो । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गर्नुभएका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ लगिएको छ ।

नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ उडेको हो । इलाममा अर्का अनशनकारी प्राडा गोविन्द केसीसँगै अनशन बस्नुभएका काठमाडौँका विद्यार्थी थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि उहाँलाई आज बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत झापा ल्याइएको थियो । झापा ल्याएर उहाँलाई मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौँ पठाउने बेलामा विमानस्थलमा उपस्थित थिए । अर्का अनशनकारी प्राडा केसीलाई चन्द्रगढी विमानस्थलबाट राति नै नेपाली सेनाकै एमआई १७ नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ पु¥याएको थियो ।

दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौँ लैजाने व्यवस्था मिलाएको हो । दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ लैजाने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको र त्यहीबेला प्राडा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकप्टर राति काठमाडौँ उडेको थियो ।-रासस