विदुर । सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दरमा पेट्रोलियम पदार्थ बिक्री हुँदै आइरहेकामा अब त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय, नुवाकोटले सक्रियता देखाएको छ । प्रशासनले उपभोक्ता, व्यवसायीलगायत सरोकारवालासँग समन्वय गर्दै मूल्य सन्तुलन कायम राख्नेदेखि उपभोक्ता अधिकार सुरक्षित गर्न उक्त कदम चालेको हो ।
जिल्लामा रहेका पेट्रालियम व्यवसायी आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन तथा अत्यावश्यकीय सेवाका रूपमा सेवा प्रवाह गर्न सहमत भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा व्यवसायीले ग्राहकलाई अत्यावश्यक हुँदा जुनसुकै समयमा पनि पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको पहलमा व्यवसायी, उपभोक्ता र नागरिक समाजका प्रतिनिधिबीचको छलफलमा काठमाडौँभन्दा नुवाकोटमा पेट्रोलियम पदार्थको मूल्य बढी भएको सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषयमा सबै सहमत देखिएका छन् ।
त्यसक्रममा व्यवसायीले निर्धारित दरमै आफूहरूले पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको र यसका बारेमा नियामक निकायको निर्णय पालना गरिरहेको बताएका थिए । छलफलमा व्यवसायीले पेट्रोलियम पदार्थ वितरण प्रक्रियालाई पारदर्शी बनाउने र ग्राहकको गुनासो नआउने अवस्था सिर्जना गर्न प्रतिबद्ध रहने धारणा व्यक्त गरेका थिए । त्यसक्रममा प्रजिअ थापाले उपभोक्ता हित विपरीतका काम हुन नदिनेमा स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउँदै मूल्य समायोजनका सन्दर्भमा सम्बन्धित निकायमा पत्राचार गरी समाधानको पहल गरिने जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, नेपाल नागरिक समाज नुवाकोटका सचिव शिव देवकोटा र पत्रकार महासङ्घ नुवाकोटका सहसचिव जमुना गजुरेलले काठमाडौँमा भन्दा नुवाकोटमा पेट्रोलियम पदार्थको मूल्य बढी हुनुपर्ने कुनै कारण नरहेको बताउनुभएको थियो । उहाँहरूले पेट्रोलियम पदार्थ वितरण प्रक्रिया पारदर्शी र व्यवस्थित नभएको भन्दै स्थानीय प्रशासन र व्यवसायीको ध्यानाकर्षण गराउनुभएको थियो ।-रासस
Add Comment