अर्थ-स्वास्थ्य

हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन भारतीयको आग्रह

गुवाहाटी (भारत) । भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ । पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यले यही माघ २४ देखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रमअन्तर्गत शुक्रबार साँझ गुवाहाटीमा भारतीयले उक्त सुझाव दिँदै यी कुरा प्रभावकारी बनाए आफूहरू पर्यटक पठाउन तयार रहेको बताए ।

टूर अपरेटर एशोसिएसन अफ अछामका सचिव कुलदीप शर्माले सीमा जोडिएको छिमेकी राष्ट्र नेपालको विद्यमान हवाई एवं सडक यातायत सेवा सहज नभएको टिप्पणी गर्नुभयो । हवाई सेवा र सडक यातायात सेवालाई प्रभावकारी बन्न सके उत्तरपूर्वी भारतका पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उहाँले बताउनुभयो । धर्म संस्कृति एवं भूगोल आदिका कारण स्वभाविक रुपमै नेपाल भारतीय नागरिकको रोजाइमा पर्ने उहाँको भनाइ छ । गुवाहाटीका पर्यटन व्यवसायी सञ्जीव क्षेत्रीले सीमा नाकास्थित नेपालको चन्द्रगढी विमानस्थलबाट पोखरालाई सिधैँ हवाई सम्पर्क गनुपर्ने बताउनुभयो ।

सिमानाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल पुग्ने बाटो वर्षात्मा हिलो र हिउँदमा धुलो हुने गरेको बताउँदै उहाँले सडक तथा हवाई सञ्जालजस्ता आधारभूत कुरालाई तत्काल व्यवस्थित बनाउन सुझाव दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले नेपाल भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य भएको बताउँदै नेपालको भ्रमण गरिदिन आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले भारतीय पर्यटन हवाई मार्गका साथै स्थलमार्ग हुँदै वर्षेनी ठूलो सङ्ख्यामा नेपाल जाने गरेको बताउनुभयो ।

पर्यटक आगमनका दृष्टिले नेपालका लागि उत्तरपूर्वी भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै उहाँले पछिल्ला वर्ष यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित आफूहरू आउने गरेको धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्ग हुँदै आएका छन् ।

सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाईमार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडकमार्गबाट आएका छन् । कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष तारानाथ पहारीलगायतले नेपालको पर्यटनका लागि भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै हवाई एवं सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेजस्ता सुझावलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।