बागलुङ । सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत कटुवाल प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ । गलकोट नगरपालिका–७ मल्मका भक्तबहादुर विक विगत चार वर्षदेखि कटुवालको भूमिकामा हुनुहुन्छ । कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । पहिले अग्ला डाँडामा पुगेर चर्को आवाज निकालेर खबर वा सूचना दिने भन्ने चलन थियो । अहिले भने कटुवालले हाते माइकको साहारा लिन थालेका छन् । गाउँ भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, बनमा घाँसदाउरा फुक्दा सूचना पु¥याउने काम कटुवालको हो । “वर्षमा १५/२० पटक सूचना दिइने भन्ने काम पर्छ”, ५० वर्षीय विकले भन्नुभयो ।
मल्म गाउँको माथिल्लो भेग टोक्री, झिर्कासम्मै पुगेर उहाँले सूचना प्रवाह गर्नुहुन्छ । यसअघि कटुवाल रहनुभएका शेरबहादुर विकको निधन भएपछि गाउँलेले सोको जिम्मा भक्तबहादुरलाई दिएका थिए । “समुदायले अनुरोध गरेपछि मैले सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो, “यो पेशाबाट जीविकोपार्जनमा पनि केही टेवा पुगेको छ ।” उहाँले सूचना वाहकको काम गरेबापत गाउँका प्रत्येक घरबाट वार्षिक एक पाथी अन्न लिने गर्नुभएको छ ।
अन्न नहुनेले सोही बराबरको नगदसमेत दिने गरेका छन् । विकले घरघरमा अन्न उठाउँदै हिँड्न कठिन भएपछि एकमुष्ट नगद दिने व्यवस्थाका लागि समुदायसँग माग गर्नुभएको छ । “वडा कार्यालयमा पनि कुरा राखेको छु”, विकले भन्नुभयो, “सुविधा थपिए काममा सहज हुने थियो ।” विकलाई सूचना भन्न चाहिने हाते माइक गाउँकै एक सामुदायिक वनले उपलब्ध गराएको छ । माइकको ‘बेट्री’ भने सूचना दिने सम्बन्धित संस्थाले किनिदिने गरेको छ ।
मल्ममा सूचनाका अन्य माध्यमको पहुँच नभएको भने होइन । ‘हाँको’ हाल्दा धेरै जनामा एकसाथ सूचना पुग्ने हुँदा गाउँमा यसको प्रभावकारिता देखिएको हो । कटुवालको आयआर्जनसँग पनि यो पेशा जोडिएको छ । गाउँ, टोलमा खबर पु¥याउन यसबाट सुलभ र छरितोसमेत हुने गरेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । “पुरानो चलन भए पनि यसको प्रभावकारिता भने अझै छ”, उहाँले भन्नुभयो ।
वडा कार्यालयले सुविधा र पारिश्रमिक थप्न पहल गरिरहेको उहाँको भनाइ छ । अन्नको सट्टा नगद पारिश्रमिक दिइनुपर्ने कटुवालको माग छ । कटुवाललाई प्रथा नभएर पेशा बनाउनुपर्ने पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउनुभयो । “राम्रो पारिश्रमिक दिएर काममा लगाउनुपर्छ”, उहाँले भन्नुभयो, “कटुवालले पनि समय सुहाउँदो ढङ्गले सूचना दिइने तरिका बदल्नुपर्छ ।”
कटुवालको ठाउँमा अन्य कुनै नाउँ पनि दिन सकिने उहाँको सुझाव छ । मल्मसँगै जिल्लाका अन्य ग्रामीण भेगमा पनि यो प्रथा जीवित छ । नेपालमा भुरेटाकुरे राज्यको पालादेखि कटुवाल प्रथा शुरु भएको मानिन्छ ।
Add Comment