अर्थ-स्वास्थ्य

 ७ रोपनी जग्गामा निर्माण हुने पार्कको लागत करीब १ करोड ४८ लाख रुपैयाँ, काठमाडौँ महानगरपालिकाको नीति, एक वडा, एक पार्कः प्रमुख शाक्य

काठमाडौँ । काठमाडौँ महानगरको वडा ५ भत्केको पुल नजिक नर बुद्ध पार्कको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्य नारायण सिलवाल, वडा ५ का अध्यक्ष रमेश डंगोलले संयुक्त रुपमा बौद्ध विधिअनुसार शिलान्यास गरे । शिलान्यास समारोहमा बोल्दै प्रमुख शाक्यले, महानगरले एक वडा एक पार्क निर्माणको नीतिअनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली बढाउने र पार्क बनाउने प्राथमिक योजना कार्यान्वयनमा जोड दिएको बताए ।

काठमाडौँ महानगरपालिकाले अहिलेसम्ममा साना–ठूला गरेर करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको छ । प्रमुख शाक्यले भने, सार्वजनिक जग्गा धेरै भएका ठाउँमा धेरै योजना छन् । पार्क निर्माणसँगै सम्पदा निर्माण, पुननिर्माणको काम हाम्रो प्राथमिकताका योजना हुन् । भौतिक संरचना महानगरले बनाएपछि त्यसको व्यवस्थापनमा स्थानीयले स्वामित्व लिनुपर्छ । अनि मात्र विकासको दिगो उपयोग हुन्छ ।

त्यस क्रममा वागमती प्रदेश सभा सदस्य नारायण सिलवाले हाँडीगाउँदेखि कपन नीलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको  बताए  । स्थानीय र जनप्रतिनिधिको एउटै चाहना भए यो सम्भव हुने उनको भनाइ थियो । त्यस क्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिकाको पार्क निर्माण र हरियाली प्रवर्धन कार्यक्रमले सोझै नागरिकको जीवनसँग सम्बन्ध राख्ने बताइन । अहिले गरिएका कतिपय कामले लामो समयपछि मात्र लाभ दिन्छन् । हामीले पहिले त नीतिगत प्रबन्ध मिलाउने प्रयास गरेका छौँ । त्यसपछि अहिलेदेखि पछिसम्म महसुस हुने काम गरिरहेका छौँ । उपप्रमुखले सम्पन्न कार्यकालको समीक्षा गरिन ।

व्यक्तिका हातमा पर्न लागेको करीब २ अर्व रुपैयाँ मुल्य बराबरको जग्गा हामीले संरक्षण गरेका छौँ । कानुनलाई छोडेको भए जग्गा बचाउन सकिने थिएन । जग्गा संरक्षणका विषयमा वडाध्यक्ष रमेश डंगोलले भने, मालपोतका कर्मचारी आएका दिन हामीले रोहवरमा हस्ताक्षर गरिदिएको भए जग्गा व्यक्तिका नाममा दर्ता भइसक्थ्यो । हस्ताक्षर नगर्दा धम्की पनि आए । सहयोग गर्न प्रलोभन पनि देखाइए । हामीले सबैका बाबजुद जनताको चाहनाबमोजिम जग्गालाई सार्वजनिक बनाउन सक्यौँ । कार्यक्रममा नरबुद्ध विहारका प्रमुख भिक्षु पूर्ण स्थविर भन्ते, पञ्जारत्न स्थविरलगायतले सार्वजनिक जग्गालाई समुदायले भोग चलन गर्न पाउने भएपछि आफूहरुमा प्रशन्नता बढेको अनुभूति राखे ।

पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार करीब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने पार्कको लागत करीव १ करोड ४८ लाख रुपैयाँ हो । पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी निर्माण हुनेछ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौताराहरु पनि रहने छन् । पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहनेछ । यस्तै १५ फिट गोलाइको फाउन्टेनसहितको पोखरी बन्नेछ । व्यायाम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । जेष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु पार्कमा सजिलै आउने, बस्ने र हिँडडुल गर्न सक्ने खालका भौतिक संरचना बनाइनेछन् ।

पार्कको सबैभन्दा महत्वपूर्ण विशेषता अभय मुद्राको बुद्ध मुर्ति हो । स्थानीय वीरेन्द्र प्रजापति भन्छन् , अहिलेसम्म हामीले बसेका वुद्ध मात्र देखेका छौँ । यहाँ उभिएका बुद्ध देख्नेछौँ । सम्भवत काठमाडौँमा अभय मुद्राको ठूलो वुद्ध मूर्ति यही नै हुनेछ ।