अर्थ-स्वास्थ्य

पशुपति गौशाला धर्मशालासँगको सम्झौता रद्द, अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाइने

काठमाडौं । सहरको मुख्य चोकमा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँमा प्रयोग गर्दै आएकामा अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाउने भन्दै सम्झौता रद्द गरेको हो । कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले सम्झौता रद्द गर्दै १५ दिनभित्र नयाँ सम्झौताका लागि मारवाडी सेवा समितिलाई समय दिने निर्णय गरेको छ । अब चलनचल्तीको मूल्यअनुसार सो जग्गा लिजमा दिने कोषले जनाएको छ । ‘मारवाडी सेवा समितिले कौडीको भाउमा सो जग्गा लिजमा लिई त्यहाँ व्यापार पनि गर्दै आएको छ,’ कोषका सदस्य राजु खत्रीले भने, ‘लिजका कारण कोषलाई ठूलो नोक्सान भएको छ, जसकारण पुरानो सम्झौता रद्द गरी नयाँ मूल्यांकनमार्फत सम्झौता गर्ने निर्णय गरेका छौँ ।’ यसअघि संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र तथा महालेखापरीक्षकको कार्यालयले समेत सम्झौता रद्द गर्न निर्देशन दिएकाले त्यसै अनुसार हाल कार्यान्वयन अघि बढाइएको उनको भनाइ छ । बहुमूल्य सम्पत्ति कौडीको भाउमा लिजमा दिइएको विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएको छ ।

९ जेठ ०६० देखि मारवाडी सेवा समितिले सो जग्गा लिजमा लिएर प्रयोग गर्दै आएको छ । उसले सामाजिक काममा जग्गा प्रयोग गरेको बताए पनि सटरहरू भाडा लगाएर महिनामै लाखौँ आम्दानी गर्दै आएको छ । पटक–पटक सो लिज अन्त्य गर्ने प्रयास भए पनि सफल भएको थिएन । अवधि उल्लेख नगरी ०६० मा न्यून दरमा लिज सम्झौता भएकाले अहिले समस्या भएको हो । २० वर्षपछि पुरानो लिज सम्झौता रद्द गरी नयाँ प्रक्रिया थालिएको छ । धर्मशालामा १९ सटर रहेकामा त्यसको भाडा मात्र मारवाडी सेवा समितिले मासिक करिब ६ लाख उठाउने गरेको छ । धर्मशालाभित्र दुई सय ७० कोठा छन् । जुन कोठा दैनिक हजार रुपैयाँसम्म भाडामा दिने गरिन्छ ।