अर्थ-स्वास्थ्य

सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटियो

काठमाडौं । विमानस्थल स्रोतका क्यानका कर्मचारीहरु शेरहादुर बस्नेत, लेकबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ र रमेश देउलाले सुन तस्करसँग मिलेमतो गरी तस्करीको सुन बाहिर ल्याउने काममा संलग्नता रहेको पाइएको छ । उनीहरुले दुवईबाट सुन पठाउने भारतीय नागरिक अंकित अग्रवाल र सुन ल्याउन लगाउने मीनबहदाुर घलेको निर्देशनमा भरियाहरु चन्द्र घले, धनबहादुर गुरुङ र कृष्णकुमार श्रेष्ठलाई सघाउने गरेको पाइएको छ ।

अनुसन्धानको क्रममा उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा चावीको साँचो क्यानका कर्मचारी र अर्को साँचो सुन बोक्ने भरियाले राख्ने गरेको पाइएको छ । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी र भन्सार कर्मचारीको पहुँच बाहिरको चोरबाटोबाट क्यानकै कर्मचारीले विमानस्थल बाहिर पुर्याउने गरेको तथ्यसमेत खुलेको छ ।

गत मंसिर २१ गते मध्यरात त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि भन्सार विभागले गरेको अनुसन्धान र छानबिनमा व्यावसायिक व्यक्तिका लागि छुट्याइएको सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा यसअघि पनि पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटिएको हो ।

मीनबहादुर घलेले सुन बोक्न चन्द्र घले वा कृष्णकुमार श्रेष्ठमध्ये जसलाई पठाइन्छ, उसैलाई दिने र अर्को लेकबहादुरले आफैं राख्ने गरेका पनि अनुसन्धानमा खुलेको छ । ‘लेकबहादुरले अर्को शौचालयमा पुर्याएको सुन लिन प्राधिकरणका अधिकृत राधाकृष्ण श्रेष्ठ पुगेर सुन बोकेर त्यही छेउको आपत्कालीन ढोका हुँदै विमानस्थल भवनको छतमा निस्कने गरेको अनुसन्धानको क्रममा खुलेको छ । उक्त आपत्कालीन ढोकाको चाबी राधाकृष्णले मात्र बोक्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सरसफाइअन्तर्गतका सिनो व्यवस्थापन गर्ने कर्मचारी रमेश देउलाले फोहोर संकलन स्थलमा पुर्याइएको सुन अर्का भरिया डीबी भनिने धनबहादुर गुरुङलाई जिम्मा लगाउने गरेको तथ्य पनि अनुसन्धानको क्रममा खुलेको छ । अनुसन्धानको क्रममा भन्सार बिभागले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइकर्मी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।