अर्थ-स्वास्थ्य

भूमिगत खानेपानीका पाइप र विजुलीका तार भोलिका लागि समस्या हुन सक्ने  : कामनपा

काठमाडौँ । निर्देशित जग्गा विकास (गाइडेड ल्याण्ड डिभलपमेन्ट – जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन । आज उनकै अध्यक्षतामा बसेका पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठकमा बोल्दै उनले यस्तो बताएको हो । ‘यस अघिको नक्सा टेवलमा बसेर बनाइएको हो । यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर बस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्छ । यसले कार्यान्वयन योग्य नक्सा बन्छ । विकासमा स्थानीय सहभागिता बढ्छ । अपनत्व हुन्छ ।’ डंगोलले पूर्वाधार निर्माण र उपयोगका विषयमा धारणा राख्दै भनिन, ‘युनिभर्सल डिजाइनमा काम गरौँ । यसबाट पूर्वाधार पहुँचयुक्त हुन्छन् । विकास सबैका लागि हुन्छ ।’

उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालका अनुसार महानरपालिका क्षेत्रभित्र ४७५ किलोमिटर निर्देशित जग्गा विकासअन्तर्गतको सडक छ । यसमध्ये ३ सय किलोमिटर खोलिसकिएको छ । बैठक नियमित भए पनि नतिजाका बारेमा भन्न नसकिएको बताउँदै उनले, आउँदो बैठक अघि नियन्त्रण कक्ष (कन्ट्रोल रुम) तयार गरिसक्ने र आउँदो बैठकमा विगतका निर्णयको समीक्षा गर्ने परिपाटी थालिने बताए ।

‘जसको जिम्मेवारी, उसैको जवाफदेहिता’ आधारभूत सिद्धान्त हो । तर काठमाडौँमा पूर्वाधार निर्माण गर्ने निकायसँगभन्दा महानगरपालिकासँग जनअपेक्षा धेरै छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले एकीकृत विकासका लागि साझेदार बिच समन्वय र सहअस्तित्व स्वीकारमा जोड दिँदै भने, ‘काठमाडौँका लागि आफूले मात्र उत्कृष्ट काम गरेर पुग्दैन । अरुको कामलाई पनि उत्कृष्ट बनाउने संस्कार विकास गर्नुपर्छ । सहज र दिगो विकास सबैको दायित्व हो भन्ने भावना जागृत गराउनु पर्छ ।’

काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको पैदल मार्गमा मेलम्ची खानेपानी आयोजना र नेपाल विद्युत प्राधिकरणवाट ठाउँठाउँमा खन्न थालेको विषयसहित बैठकमा पूर्वाधार निर्माणमा देखिएका असमन्वय सम्बन्धी प्रस्तावहरु थिए । विगत कमजोरी कसरी सुधार गर्न सकिन्छ । प्रस्ताव आउनुपछाडिका कारण हुन् । बैठकमा प्रस्ताव पेश गर्दै सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्न र नदीको सीमाङ्कनका लागि महानगरपालिकाले नापी कार्यालयवाट नापी नक्सा तथा फिल्ड बुक र नापी तथा मालपोत कार्यालयवाट स्रेस्ता प्राप्त गर्ने अपेक्षा राखेको छ ।’

सडक निर्माण र मर्मतका सम्बन्धमा भएको छलफलमा डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीले, मीनभवन र बबरमहलमा यात्रुहरुका लागि ¥यामसहितको आकाशे पुल निर्माण गर्ने योजना सुनाए । योजनाका विषयमा धारणा राख्दै महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले, ¥याम भएका आकाशे पुलको सट्टा लिफ्ट राखिनुपर्ने बताए । यसले आकाशे पुलहरु अपाङ्गता भएका व्यक्ति, विरामी तथा ज्येष्ठ नागरिकले सजिलै उपयोग गर्न सक्छन् । उनको भनाइ थियो ।

‘विद्युत प्राधिकरणले जमिन सतहबाट ५० सेन्टिमिटर तल तार विछ््याएको छ । जवकि खानेपानीका पाइपलाइन ९० सेन्टिमिटर तल छन् । यसले निर्माण अवधिमा त खासै समस्या हुँदैन तर मर्मत उपयोगमा ठूलो समस्या सिर्जना गर्छ ।’ बैठकमा खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजन इञ्जिनियर रविन्द्र पोखरेलले भने, ‘यो डिजाइन गलत छ । भोलि आउन सक्ने जोखिम आजै आँकलन गरौँ ।’ उनका अनुसार सडकमा खानेपानीका पाइप धेरै भएका ठाउँमा ५ वटासम्म छन् । तर वितरण प्रणालीका लागि भूमिगत गरिएका ठाउँमा कतिवटासम्म तार छन्, भन्न सकिने अवस्था छैन । उनको यो भनाइमा बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख ताराप्रसाद प्रधानले कुनै प्रतिक्रिया दिएनन । महानगरपालिकाले बसन्तपुर सम्पदा क्षेत्रमा ढुङ्गा विछ््याउने योजना कार्यान्वयनमा जानु अघि प्राधिकरणबाट विजुली वितरण प्रणालीको काम सक्नका लागि गरिएको अनुरोधमा प्रधानले, यसमा राखिने बक्स ठूला हुने र यस्ता बक्स राख्न मिल्ने भए काम गर्न सकिने बताए ।

बसन्तपुरकै संस्कृत विश्वविद्यालयको जोखिमपूर्ण भवन तत्काल भत्काउने विषयमा राखिएको प्रस्तावमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भवन भत्काउनु अघि यसको ड्रइङ् डिजाइन उतार गरिसक्नु पर्ने बताए । सहरी व्यवस्थापनका विषयमा महानगरपालिका आएका गुनासा र सम्बोधनका लागि साझेदारको सहभागिताबा विषयमा महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, चकुन्चा खोला, धोवीखोलालगायत नदी तथा खोलाको पूर्वाधार सुधारमा बर्खा अगाडि नै काम गर्न सकिएन भने डुवानको समस्या हुने बताए । ‘सडकका किनारामा रहेका रेलिङ्गमा रङ्ग लगाउँदा, कुच्चिएका, भाँचिएका, बाङ्गिएकालाई नसोझ्याई जस्तो छ त्यस्तैमा लगाइएको छ । सहरमा ठाउँ ठाउँमा पानीको चुहावट भएर आवागमन र सुन्दरतामा समस्या देखिने गरेको छ । साझेदारले समयमा आफ्ना मातहतका संरचनाको सुधार गरिदिए महानगरमा आउने गुनासाको संख्या घट्ने थियो ।’

पाण्डेले यस्तो बताएपछि डिभिजन सडक कार्यालयका प्रमुख भण्डारीले, महानगरपालिका क्षेत्रभित्रको ४७२ किलोमिटर सडक विभागको कार्य क्षेत्राधिकारमा रहेको बताउँदै यस सडकमा सतह मिलान गर्नु पर्ने, सफाइ गर्नु पर्ने तथा मर्मत गर्नु पर्ने काम नियमित भएको बताए ।