काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले आजदेखि वडा क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ । विगतदेखि यस क्षेत्रको फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको हो । यसका लागि फोहोर संकलन गर्ने सवारी साधनमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । सहभागिता र सचेतनाका लागि सामाजिक संघसंस्था, व्यवसायीसहित उत्पादकहरुसँग चरणचरणमा छलफल गरियो । कार्यक्रमको जानकारी दिन बुधबार प्रभातफेरी गरिएको थियो ।
‘स्रोतमा फोहोर छुट््याएर कुहिने फोहोरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै वडाध्यक्ष एवं सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भने, ‘वडाभित्र रेष्टुरेन्ट व्यवसाय धेरै भएकोले जैविक फोहोर बढी उत्पादन हुन्छ । यसलाई उत्पादन भएकै ठाउँमा मल बनाएर ट्रान्सफर स्टेशनमै कम फोहोर पठाउने हाम्रो योजना छ ।’ के. सी. का अनुसार वडामा करिब १३ हजार घरधुरी र ७० हजार मानिसको बसोबास छ ।
वडाको कार्यक्रमले छिट्टै सफलता प्राप्त गर्छ । महानगरपालिकाको फोहोर वर्गीकरणमा प्राविधिक सहयोग गर्न भारतको इन्दोर नगरबाट आउनुभएका सूचना, शिक्षा र सञ्चारविज्ञ अमित चौहान भन्छन्, ‘वडाबासीको सहभागिता उत्साहपूर्ण छ । उनिहरुको सहभागिताले कार्यक्रम सफल हुने हो ।’
घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं. २७ बाट थालिसकिएको छ । माघ २१ गतेबाट यस वडाको फोहोर छुट्टाछुट्टै संकलन गर्ने गरिएको छ । कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने गरिएको छ ।
के हो, फोहोर वर्गीकरण
भान्छामा कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।
तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् । यस्तै प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् ।
यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।
विभागले हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्याङ्कन गर्ने गरेको छ । सहरी योजना आयोगका सदस्यहरु यसको प्रभावकारिताको अध्ययनका लागि कार्यक्रममा सहभागी हुने भएको छ ।
Add Comment