अर्थ-स्वास्थ्य

‘सिप मेला’ ले युवाहरुलाई स्वरोजगार बन्न प्रोत्साहन गरेको र रोजगारमा जान सिप विकास गरेको महसुस गरेँ : फिनल्याण्ड राजदूत रीना—रीक्का

काठमाडौँ, जेठ १५ । ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत रीना–रीक्का हेक्काले बताएकि छन् । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको मेला अवलोकनपछिको संक्षिप्त प्रतिक्रियामा उनले यस्तो बताएको हो ।

व्यक्तिमा व्यवसायिक सिप प्रदान गरेर आत्मनिर्भर हुन सक्ने बनाउनु महत्वपूर्ण काम हो । उनले ‘सिप मेला’सँगै ‘शिक्षामा सिप’ कार्यक्रमले उद्योग, रोजगार र स्वरोजगारका क्षेत्रमा महत्वपूर्ण र दीर्घकालीन नतिजा दिने बताईन । महानगरपालिकाले सञ्चालन गरेको शिक्षकको क्षमता विकास कार्यक्रममा आफूहरु सहकार्यका लागि तयार रहेको राजदूत हेक्काको भनाइ थियो ।

राजदूत हेक्काले, प्रशिक्षार्थीहरुसँग तपाईँको के सपना थियो? तालिमले त्यो सपना कसरी पूरा गराउँछ भनेर अन्तरक्रिया गरेकि थिईन । त्यस क्रममा प्रशिक्षार्थीहरुले, महानगरपालिकाले आफूलाई निःशुल्क तालिम दिएपछि महानगरपालिकाले गरेको लगानी आफू स्वरोजगार भएर फिर्ता गर्ने सपना रहेको उल्लेख गरेका थिए ।

त्यस क्रममा महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, मेलाबाट बेरोजगार र रोजगारदाता बिचको सम्बन्धमा अहिले भएको खाडल कम हुने बताए । यसका लागि निजी, उद्योग, वाणिज्य तथा शैक्षिक क्षेत्रसँग समन्वय भएको उपाध्यक्ष राजभण्डारीको भनाइ थियो ।

मेलामा सञ्चालन भएका तालिम कक्षाहरुका बारेमा उपाध्यक्ष राजभण्डारीसहित, आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, निर्देशक समितिका सदस्य सुदीप ढकाल, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, रोजगार संयोजक देवेन्द्र के. सी. सहित अधिकारीहरुले तालिमका विशेषताका बारेमा जानकारी गराएका थिए ।