समाचार

सरकारको ‘विनाश काले विपरीत बुद्धि’ -डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको कामको आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता डा. कोइरालाले सरकारको कामको आलोचना गरेका हुन् ।

उनले सरकारलाई ‘विनाश काले विपरीत बुद्धि’ भन्दै टिप्पणी पनि गरेका छन् । उनले सरकारलाई कुशासनको दुश्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्रको तीव्र विरोध र गलत तत्वहरूले सडकमा अशान्ति फैलाइरहेको संवेदनशील समयमा सरकारले अर्को ‘दुस्कर्म’ को प्रयास गरेको उल्लेख गरेका छन् ।

नेता डा. कोइरालाले ‘पूर्वविशिष्टलाई आजीवन सुविधा’ दिने सरकारको तयारीलाई चौतर्फी विरोध भइरहेको बताउँदै यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने चेतावनी दिएका छन् । उनले सरकारलाई यस्ता काम अघि नबढाउन र दिइएका सुविधाहरू घटाउन आग्रह गरेका छन् ।