Uncategorized

अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष दाहाल

म्याग्दी, २८ पुस ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आजदेखि बेनीमा शुरु भएको छैटाँै म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नं प्रदेश स्तरीय कृषि, औद्योगिक व्यापारिक मेलाको आज उद्घाटन गर्नुहुँदै दाहाल ले यस्तो बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहाल ले मुलुकमा राजनीतिक अधिकारको लडाइँ सकिएको बताउँदै अबको यात्रा मुलुकलाई विकास र आर्थिक समृद्धिमार्फत विकसित मुलुकको रुपमा चिनाउनेतर्फ अगाडि बढ्ने बताउनुभयो । उहाँले अब बन्ने वाम गठबन्धनको सरकारले हरेक जिल्लामा रहेका सम्भावनाको पहिचान गरी ती क्षेत्रको उजागरमार्फत विकास र समृद्धिलाई नेतृत्व गर्ने बताउनुभयो ।
“सरकार त वाम गठबन्धनकै बन्छ, त्यसैले हामी अहिले त्यसै बसेका छैनौँ, कुन जिल्लामा के–कस्ता क्षेत्रमा सम्भावना छन्, ती कुराका बारेमा योजना बनाउन लागिपरेका छौँ, अबको सरकारले सम्भावनायुक्त क्षेत्रको पहिचान गरी विकासलाई प्राथमिकतामा राख्छ” – अध्यक्ष दाहाल ले भन्नुभयो । विगतको १० वर्षको राजनीतिक यात्रामा आफूले निजी क्षेत्रलाई समेत मुलुकको विकासको साझेदारीको रुपमा लिने नीतिलाई नीतिगत रुपमै कार्यान्वयन गर्न विशेष पहल गरेको बताउँदै अध्यक्ष दाहाल ले अब मुलुक निर्माणको जिम्मेवारी सरकार र निजी क्षेत्र दुवैको हुने बताउनुभयो । म्याग्दीमा जलस्रोत, पर्यटन, जडीबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै उहाँले यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धतासमेत जनाउनुभयो ।