Home » Sample Page » विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु
Uncategorized

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं । पछिल्ला केही दिनमा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। रुपन्देही, बारा, सुर्खेत, रुकुम पश्चिम, बर्दिया, कैलाली र सिरहामा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ वयाहास्थित पूर्व–पश्चिम राजमार्गमा भदौ २५ गते मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा–२ का ६२ वर्षीय डोलराज चापागाईं र पैदलयात्री रुपन्देही मयागाउँकी ४५ वर्षीया पुष्पा कांमु घाइते भएका थिए। पुष्पा उपचारपछि डिस्चार्ज भएकी थिइन् भने टाउकोमा गम्भीर चोट लागेका डोलराजको उपचारकै क्रममा भदौ २८ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, बाराको कलैया उपमहानगरपालिका–५ बालमन्दिर नजिक मोटरसाइकल र इ–रिक्सा एकआपसमा ठोक्किँदा कलैया–१७ का २७ वर्षीय अमित पटेल घाइते भएका थिए। सुरुमा कलैयास्थित अस्पतालमा उपचार गरिए पनि अवस्था गम्भीर भएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा भदौ २८ गते उनको मृत्यु भएको हो।

सुर्खेतको लेकवेशी नगरपालिका–१० झुप्रामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ५५ वर्षीया आशा बुढाको मृत्यु भएको छ। भदौ २७ गते भएको दुर्घटनामा घाइते भएकी बुढाको उपचारका क्रममा भदौ २८ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा बोलेरो जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए। उपचारका क्रममा त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की १७ वर्षीया प्रेमकला पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दियाको राजापुर नगरपालिका–४ भन्सार चोकमा चार्जिङ स्टेशनभित्र ईभी हाइस लैजाने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा करिब ६० वर्षीय धनिराम बौधरी घाइते भएका थिए। नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेका उनको भदौ २९ गते बिहान मृत्यु भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार १४ वर्षीय किस गोतामेको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।

सिरहाको नरहा गाउँपालिका–३ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा साइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय हिरा राउत पटेल घाइते भएका थिए। अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा भदौ २८ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दियाको गुलरिया नगरपालिका–१ स्थित हुलाकी सडकमा मोटरसाइकल पोलमा ठोक्किँदा करिब ३० वर्षीय एक पुरुषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्‍याइएकोमा उपचार सुरु गर्नुअघि नै चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ केवलानी चोकमा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा ४७ वर्षीय तुलसीराम खरेलको मृत्यु भएको छ। भदौ २९ गते बिहान भएको दुर्घटनामा घाइते खरेललाई क्रिमसन अस्पताल मणिग्राम लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्ला दुर्घटनाहरूमा तीव्र गति, सवारी साधनमाथिको नियन्त्रण गुम्नु तथा सडकमा हुने असावधानीजस्ता कारण देखिएको जनाएको छ। सवारी चलाउँदा गति नियन्त्रणमा राख्न, ट्राफिक नियम पालना गर्न र पैदलयात्री तथा अन्य सवारीप्रति विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गर्दै आएको छ।