दुई रेल दुर्घटनापछि स्पेनका यातायातमन्त्री पुएन्तेले दिए राजीनामा

दुई रेल दुर्घटनापछि स्पेनका यातायातमन्त्री पुएन्तेले दिए राजीनामा

एजेन्सी । एक वर्षभित्र दुई ठूला रेल दुर्घटना भएपछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिएका छन्। पछिल्लो दुर्घटनामा ६९ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए।

म्याड्रिडमा सांसदहरूसँग कुरा गर्दै पुएन्तेले दुर्घटनापछि नै आफूले पद छाड्ने निर्णय गरेको बताएका छन्। “स्पेनजस्तो देशमा यातायातमन्त्रीले एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई दुर्घटनापछि पदमा रहिरहन सक्दैन,” उनले भने। दुर्घटनाहरूको प्रकृति फरक भए पनि र प्रत्यक्ष जिम्मेवारी आफूमा भए वा नभए पनि पदमा बसिरहन उचित नहुने उनको भनाइ थियो।

गत हप्ता म्याड्रिड र अन्डालुसियालाई जोड्ने उच्चगतिको रेलमार्गमा एउटा रेल अर्को रेलसँग ठोक्किएको थियो। अधिकारीहरूका अनुसार दुर्घटनामा मानवीय र कम्प्युटर प्रणालीसम्बन्धी त्रुटि दुवैको भूमिका हुन सक्ने देखिएको छ। सुरक्षा प्रणालीमा समस्या आएपछि रेलमार्गको आवागमन रोकिएको अवस्थामा स्पेनको राष्ट्रिय रेल सेवाले सञ्चालन गरेको एउटा रेल स्थिर अवस्थामा रहेको अर्को रेलसँग तीव्र गतिमा ठोक्किएको थियो।

दुर्घटनाबारे पुएन्तेले गत हप्ता रेललाई अघि बढ्न निषेध गर्ने रातो संकेत हुँदाहुँदै पनि अघि बढ्न अनुमति दिइएको बताएका थिए। उनले त्यस निर्णयलाई “अस्पष्ट परिस्थितिमा गरिएको निर्णय” भनेका थिए।

गत जनवरीमा एडामुज सहरमा दुई उच्चगतिको रेल आमनेसामने ठोक्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको थियो। पछिल्लो दुर्घटनापछि पुएन्तेको राजीनामाको माग गर्दै विभिन्न राजनीतिक दलका नेता तथा यातायात मजदुर सङ्घले आवाज उठाएका थिए। दुर्घटनाको रात यातायात मन्त्रालयबाहिर प्रदर्शनकारीहरूले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको राजीनामासमेत मागेका थिए।

देशमा आमनिर्वाचन हुन तीन हप्ता बाँकी रहँदा पुएन्तेको राजीनामा आएको हो। उनले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन्। प्रधानमन्त्री सान्चेजले सामाजिक सञ्जालमार्फत पुएन्तेको निर्णयलाई पीडितप्रतिको सम्मान र आफ्नो राजनीतिक परियोजनाप्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गरेका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply