नेपाल टेलिकमको सहुलियत इन्टरनेटमा ग्राहकको आकर्षण, दुई सातामै थपिए ११ हजारभन्दा बढी

नेपाल टेलिकमको सहुलियत इन्टरनेटमा ग्राहकको आकर्षण, दुई सातामै थपिए ११ हजारभन्दा बढी

काठमाडौं । नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ। गत असोज ३० गतेदेखि सुरु गरिएको उक्त सेवामा कात्तिक १६ गतेसम्म ११ हजार ७६४ नयाँ ग्राहक जोडिएका छन्।

सरकारको डिजिटल नेपाल अभियानअन्तर्गत इन्टरनेट सेवाको पहुँच विस्तार र सर्वसाधारणलाई सस्तो मूल्यमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले सहुलियत प्याकेज सञ्चालनमा ल्याएको हो। इन्टरनेट सेवा महँगो भएको जनगुनासोलाई सम्बोधन गर्ने प्रयासस्वरूप सुरु गरिएको यस योजनामा नयाँ ग्राहकको उल्लेखनीय सहभागिता देखिएको छ।

नेपाल टेलिकमका अनुसार नयाँ ग्राहकहरूमध्ये ४० प्रतिशतले सहुलियत दरको प्याकेज रोजेका छन्। विशेषगरी सीमित इन्टरनेट क्षमता आवश्यक पर्ने तर त्यसका लागि महँगो प्याकेज लिनुपर्ने बाध्यतामा रहेका व्यक्ति तथा परिवारलाई यो सेवा उपयोगी बनेको छ।

गत वर्ष कात्तिक महिनाभरि फाइबर इन्टरनेट सेवा लिने नयाँ ग्राहकको संख्या २ हजार ९८१ मात्रै रहेको थियो। तर यस वर्ष असोज ३० देखि कात्तिक १६ गतेसम्मको अवधिमै ११ हजार ७६४ ग्राहक थपिएका छन्। यसले सहुलियत प्याकेजप्रति ग्राहकको चासो बढेको देखाउँछ।

त्यस्तै, पछिल्लो तीन सातामा इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा र कल सेन्टरमार्फत २८ हजार १९२ जनाले आफ्नो नाम दर्ता गराएका छन्।

यसैबीच, नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र दुर्गम क्षेत्रसहित देशका विभिन्न १ हजार ६०० स्थानमा फोरजी–एलटीई सेवा विस्तार गर्ने तयारी गरेको छ। यसका लागि बोलपत्रसमेत आह्वान भइसकेको जनाइएको छ।

दूरसञ्चार सेवालाई गुणस्तरीय, विश्वसनीय, प्रतिस्पर्धी र सर्वसुलभ बनाउने लक्ष्यसहित सरकारले यस क्षेत्रको नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणकारी वर्ष बनाउने सरकारको लक्ष्य रहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply