भाइटीकामा प्रधानमन्त्री बालेनको शुभकामना : प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनोस्

भाइटीकामा प्रधानमन्त्री बालेनको शुभकामना : प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले बुधबार आफ्नो फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।

उनले भाइटीकासँग जोडिएको पौराणिक मान्यता स्मरण गर्दै यमराज र उनकी बहिनी यमुनाबीचको प्रेम, निष्ठा र आतिथ्यको प्रसङ्ग उल्लेख गरेका छन्। यमुनाले विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेपछि प्रसन्न भएका यमराजले यस दिन टीका ग्रहण गर्ने दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै पूजा गर्ने परम्पराको चर्चा गरेका छन्। यस अवसरमा दूबो, मखमली तथा सयपत्री फूलको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र मिठाई खुवाउने चलन रहेको उनले उल्लेख गरेका छन्।

त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गर्ने तथा आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply