काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका दुई जनाको संसदीय सुनुवाइ आज हुने भएको छ। सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ९ः३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्नेछ।
समितिको सार्वजनिक सूचना अनुसार बैठक सार्वजनिक लेखा समितिको सभाकक्षमा आयोजना हुनेछ। बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित झापाका जनक पाण्डे र दाङका गोकर्ण डाँगीलाई आमन्त्रण गरी सुनुवाइ गरिने कार्यसूची छ।
सुनुवाइका क्रममा प्रस्तावित दुवै व्यक्तिको योग्यता, अनुभव तथा नियुक्तिका लागि उपयुक्ततासम्बन्धी विषयमा समितिले छलफल गर्नेछ। सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले उनीहरू सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उपयुक्त वा अनुपयुक्त रहेको सम्बन्धमा निर्णय गर्नेछ।
समितिको निर्णयपछि नियुक्तिसम्बन्धी सिफारिस सम्बन्धित निकायमा पठाइनेछ। न्यायपरिषद्ले गत असोज २० गते सर्वोच्च अदालतका रिक्त पदमा नियुक्तिका लागि जनक पाण्डे र गोकर्ण डाँगीसहित चार जनाको नाम सिफारिस गरेको थियो।