काठमाडौं । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ समयसीमा निर्धारण गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन साँझ ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्नेछ। त्यस्तै, बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा सवारी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
पछिल्लो समय उक्त सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट मानवीय क्षति हुने क्रम नरोकिएपछि जिल्ला सुरक्षा समितिले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
प्रशासनका अनुसार साँघुरा सडक, भिरालो तथा घुम्ती भएका मार्ग, सवारी साधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही र तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढेको छ। एउटै दिनमा धेरै पटक ओहोरदोहोर गर्नुपर्ने दबाब, चालकको अत्यधिक थकान र अनिद्राले समेत दुर्घटनालाई निम्त्याइरहेको सूचनामा उल्लेख छ।
यसैगरी, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ।
जारी सूचनामा उक्त रुटमा चल्ने सबै यात्रुवाहक सवारी साधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख छ। साथै काठमाडौं जिल्लाभित्र पर्ने उक्त सडक खण्डका प्रहरी इकाइ तथा ट्राफिक प्रहरीले प्रत्येक यात्रुवाहक सवारी साधनको अनिवार्य र कडाइका साथ जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामार्फत यातायात व्यवसायी, चालक तथा सम्बन्धित सबैलाई निर्धारित समय र सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
