नागढुंगा–मुग्लिन सडकमा सवारी आवागमन बन्द, चितवन प्रशासनले जारी गर्‍यो यस्तो सूचना

नागढुंगा–मुग्लिन सडकमा सवारी आवागमन बन्द, चितवन प्रशासनले जारी गर्‍यो यस्तो सूचना

चितवन । नागढुंगा–मुग्लिन सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसिरहेका कारण सडक आवागमन प्रभावित हुने भएको छ। जोखिम न्यूनीकरण तथा पहिरो पन्छाउने कार्यका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिनेछ।

घोप्टेभीरमा लगातार पहिरो खस्दा यसअघि मानवीय क्षतिसमेत भएकाले जोखिमयुक्त ढुंगा तथा माटो हटाउन सडक बन्द गरेर काम अघि बढाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।

निर्धारित समयभित्र नागढुंगा–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइने भएकाले यात्रु तथा चालकलाई आफ्नो यात्रा सोहीअनुसार व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

सडक अवरोध तथा थप जानकारीका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १०० वा १०३ र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply