कलंकीमा धारिलो हतियार देखाएर मोबाइल लुट्ने तीन जना पक्राउ

कलंकीमा धारिलो हतियार देखाएर मोबाइल लुट्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर ३ गते बिहान करिब ३:४२ बजे काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाउँदै धाकधम्की दिएर मोबाइल लुटेका थिए।

घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै भाग्दै गरेको अवस्थामा लुटिएका मोबाइलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–१ घर भई कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई कलंकी बस्ने २८ वर्षीय सागर तामाङ र कास्कीको पोखरा घर भई कलंकी बस्ने २८ वर्षीया सन्ध्या तामाङ रहेका छन्।

उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply