चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत तुईनखोलामा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
पहिरो रोकथामको कामका क्रममा सम्भावित जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। यसअघि केही समय सञ्चालनमा आएर स्थगित भएको आयोजनाको काम पुनः अघि बढाउन लागिएको हो।
यद्यपि, काठमाडौं–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने सडकमा भने सवारी आवागमन नियमित रहने प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई समयतालिका अनुसार यात्रा योजना बनाउन आग्रह गरेको छ। थप जानकारी तथा समन्वयका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १०० वा १०३, सशस्त्र प्रहरीको ११४४ तथा जिल्ला प्रशासन कार्यालय चितवनको सूचना अधिकारीको नम्बर ९८५५०९२२०० मा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, नेपाल प्रहरीका सूचना अधिकारी ९८५५०१३९९९ र सडक डिभिजन भरतपुरका सूचना अधिकारी ९८५५०९२२१८ मा पनि सम्पर्क गर्न सकिनेछ।