विविध

योगी नरहरिनाथ : प्रथम पुष्पाञ्जलि प्रकाशन

काठमाडौँ, २९ पुस ।  श्रीबृहत् आध्यात्मिक परिषद्ले २९६औँ पृथ्वीजयन्तीको अवसरमा योगी नरहरिनाथ : प्रथम पुष्पाञ्जलि प्रकाशन गरेको छ । कृतिमा नरहरिनाथद्वारा रचना गरिएका २५ वटा लेख, रचना समावेश गरिएका छन् । त्यसैगरी गुरुले रचना गरेका आठवटा पुस्तकको संगालोका रुपमा योगी नरहरिनाथःदोस्रो पुष्पाञ्जलि प्रकाशनका क्रममा रहेको परिषद्का महासचिव विश्व पोखरेलले जानकारी दिनुभयो ।
विभिन्न ३९ पुस्तक पुस्तिका र करिब २३१ लेख रचना पुनः प्रकाशनको निमित्त सम्पादनको तयारीमा रहेको छ । जनस्तरबाट रकम संकलन गरेर गुरुका कृति प्रकाशन गरिँदै आएको परिषद्ले जनाएको छ ।
परिषद्ले विसं २०३३ देखि प्रकाशन अवरुद्ध रहेको विश्वात्मदर्शन केही वर्षदेखि निरन्तरता दिएको छ । परिषद्ले गुरुका पुस्तकहरुको नेपाल प्रज्ञा–प्रतिष्ठानमा दोस्रो बृहद् पुस्तक प्रदर्शनी शुक्रबारदेखि आइतबारसम्म सञ्चालन गरेको छ । उहाँले सिर्जना गरेका कृति तथा अन्य महत्वपूर्ण सामग्री संरक्षण गरी पुराना मौज्दात रहेका पुस्तक बिक्री तथा अप्रकाशित कृतिका पाण्डुलिपि संरक्षणका साथै नयाँ प्रकाशन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गरिएको हो ।