Uncategorized

भाडाका ३२५ सवारी साधन प्रतिबन्ध

भीमदत्तनगर, १२ चैत ।  चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ । यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिनुभयो । उहाँले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाइएको बताउनुभयो ।
प्रतिबन्धित सवारी साधनमाथि निगरानी बढाउन अनुगमन टोलीसमेत गठन गरिएको छ । गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारीधनीलाई निर्देशनसमेत दिइएको थियो । “ट्राफिक प्रहरीसित प्रतिबन्ध लगाउन समन्वय गरेका छौँ,” भट्टले भन्नुभयो, “अनुगमन समितिले पनि जाँच गर्दैछ ।”
पुराना सवारी साधनले वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको यातायात कार्यालयले जनाएको छ । प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १२४, ट्रक १०६, मिनीबस तीन, टिपर १० र एक÷एक वटा कन्टेनर तथा मिनीट्रक रहेका छन् । त्यस्तै ट्र्याक्टर १३, जिप ५२ र १५ टेम्पो गुड्न नपाउने भएका छन् । बीस वर्ष पुराना सवारी साधन गुडाएको पाइए कारवाहीको दायरामा ल्याइने भट्टले बताउनुभयो ।
दुई हजार १०१ सवारी साधन दर्ता : यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा ११ महिनामा दुई हजार १०१ सवारी साधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयका नायब सुब्बा नन्दराज भट्टका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा विभिन्न सवारी साधन दर्ताका भएका हुन् ।
कार्यालयका अनुसार नयाँ दर्ता भएका सावरी साधनमा सबैभन्दा बढी एक हजार ५६२ मोटरसाइकल, सात वटा बस, मिनीबस÷ट्रक चार, एक्साभेटर ४३, जिप÷कार ३२ र माइक्रो १९ रहेका छन् । सरकारी मोटरसाइकल ३७ र ट्र्याक्टर तथा इ–रिक्सा चार गरी ८४ वटा दर्ता भएका छन् । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका लेखापाल अनिल चन्दका अनुसार चालू आवको फागुनसम्ममा रु आठ करोड ७४ लाख ९२ हजार राजश्व संकलन भएको छ ।