Uncategorized

३ नम्बर प्रदेशको अस्थायी मुकाम हेटौडा तोकिएको भक्तपुरमा विरोध

भक्तपुर  ३ माघ । मन्त्रीपरिषद्को आज बसेको बैठकले ३ नम्बर प्रदेशको अस्थायी मुकाम हेटौडा तोकेकोमा भक्तपुरका राजनीतिज्ञहरुले विरोध गरेका छन् । सरकारका उपप्रधानमन्त्री कमल थापाको एकलौटी निर्णयअनुसार ३ नम्बर प्रदेशको राजधानी घोषणा हुने तयारीमा रहेको भक्तपुरको सानो ठिमीको सट्टा हेटौडा तोकिएकोमा भक्तपुरवासी विरोधमा उत्रिनु परेको प्रतिनिधि सभा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सदस्य महेश बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
३ नम्बर प्रदेशको राजधानीको निम्ति भक्तपुर मात्र उपयुक्त भएको निष्कर्षसहित भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य शशिजंग थापा, राजेन्द्रमान श्रेष्ठ, क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य हरिशरण लामिछानेले यसअघि नै केन्द्रीय तहसम्म पहल गरेका थिए । सरकारले मनोमानी ढंगबाट भक्तपुरको सट्टा अन्यत्र राजधानी तोकेमा भक्तपुरबासीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी ३ नम्बर प्रदेशको राजधानी घोषणा हुने तयारीमा रहेको भक्तपुरको सानोठिमीको सट्टा हेटौडा बनाउने सरकारको निर्णय सार्वजनिक भएपश्चात मध्यपुर थिमी नगरपालिकाले समेत विरोध जनाएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सरकारले एकलौटी तरिकाबाट मण्डले चरित्र देखाएको आरोप लगाए । उनले भने,‘३ नम्बर प्रदेशको केन्द्रविन्दू भक्तपुर पूर्वाधारका रुपमा समेत उपयुक्त रहेको छ, यसलाई कुनैपनि हालतमा अन्य क्षेत्रमा लैजान हामी दिँदैनौ ।
सरकारको एकलौटी निर्णय कुनैपनि हालतमा व्यवहारिक नभएको भन्दै श्रेष्ठले यसको विरोधमा बिहीबार अपरान्ह भक्तपुरको सानो ठिमीमा चक्का जामसहित सडक आन्दोलन गर्ने बताए । उनले भने,‘सरकारले यस्तो अप्रिय निर्णय फिर्ता नलिए भक्तपुरबासीले आन्दोलन गर्नुको कुनै विकल्प छैन ।’ ३ नम्बर प्रदेशको लागि भक्तपुरको सानो ठिमी भौतिक संरचनाको दृष्टिकोणले समेत सुविधा सम्पन्न रहेको, यहाँ रहेका भवनहरुलाई प्रदेशसभाको बैठक बस्नको लागि सभा हलको रुपमा प्रयोग गर्न तथा प्रदेशको मन्त्रालयको निम्ति समेत उपयुक्त भवन उपलब्ध रहेका कारण भक्तपुर नै उपयुक्त राजधानी हुने श्रेष्ठले बताए । ब्ब्
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा सदस्य शशिजंग थापाले प्रदेश सभाको निम्ति आवश्यक पूर्वाधारण अर्काे निर्माण गर्न नपर्ने र ३ नम्बर प्रदेशको १३ वटा जिल्लाको केन्द्र समेत भक्तपुर भएकाले प्रदेशको राजधानी तोकिनुको कुनैपनि विकल्न नभएको बताए । थापाले भने,‘भौतिक र प्राविधिक रुपमा समेत उपयुक्त भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी नतोकिए यसको विरोधमा व्यापक रुपमा जनताहरुलाई हामी सडकमा उतार्नेछौ ।’