अर्थ-स्वास्थ्य

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ, ९ वैशाख ।  शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । लगातार बढ्दै आएको बजार आज ५०.१८ बिन्दुले उकालो लागेर एक हजार ४३८.४९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १०.०८ अंकले बढेर ३०४.१८ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २८ लाख ८९ हजार ९४३ कित्ता शेयर रु एक अर्ब २३ करोड पाँच लाख तीन हजार १८० मूल्यमा खरिद बिक्री भएको छ । शेयर बजारमा बैंकिङ ३९.३१, होटल ६५.२, विकास बैंक ६१.६६, जलविद्युत् ८९.८८, फाइनान्स २३.१४, बीमा ३५२.९९, उत्पादन ४०.३८, अन्य १२.५७ र माइक्रोफाइनान्स १००.२३ बिन्दुले उकालो लागेको छ ।
आठ लाख ४० हजार कित्ता शेयरका लागि स्वीकृति : नेपाल धितोपत्र बोर्डले रैराङ हाइड्रोपावर कम्पनीको साधारण शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले आज रु आठ करोड ४० लाख बराबरको आठ लाख ४० हजार कित्ता साधारण शेयर(आइपिओ) जारी गर्नका लागि स्वीकृति दिइएको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।-रासस