समाचार

छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली

काठमाडौँ, ९ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय गोष्ठी’ नामक पुस्तकको सार्वजनिक गर्दै उहाँले सार्क राष्ट्रबीच देखिएका असमझदारीलाई न्यूनीकरण गरी आपसी विश्वास, सहयोग र सहकार्यका सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, छिमेकीसँग झगडा भएमा राम्ररी सुत्न सकिँदैन, छिमेकीसँग विश्वासिलो, सुमधुर सम्बन्ध जरुरी छ ।” उहाँले मुलुकको शान्ति र समृद्धिका लागि छिमेकीसँग नेपालको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सार्कको संस्थापक र सक्रिय सदस्य रहेको र सार्क मुलुकको स्रोत र साधनको विकास गर्न सार्कको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालले सार्कको अध्यक्षता गरिरहेको छ, अहिले केही राष्ट्रबीच असमझदारी भएको छ, राष्ट्रबीच आपसी वातावरण अनुकूल पार्न जरुरी छ ।” प्रधानमन्त्री ओलीले सार्कजस्ता राष्ट्रबीच कहिलेकाहीँ आपसमा मतभेद, असमझदारी भए पनि त्यसलाई घटाएर लगी फलदायी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सार्कको प्रभावकारिता र क्षेत्रीय सम्मेलनका संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्कको आवश्यकता सबै राष्ट्रमा भएको र सबै राष्ट्रले आपसमा मिलेर लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पुस्तकका रुपमा सार्वजनिक गर्न केही ढिलाइ भए तापनि धेरै मेहनत गरेर निकै उपयोगी पुस्तकका रुपमा प्रकाशन गरेको जानकारी दिनुभयो । सभामुख कृष्णबहादुर महराले नेपालले सार्क राष्ट्रको अध्यक्षता गरिरहेको उल्लेख गर्दै दुई/दुई वर्षमा हुनेपर्नेमा ढिलाइ भएकोप्रति दुःख व्यक्त गर्दै सार्कलाई क्रियाशीलरुपमा अगाडि बढाउनुनपर्ने धारणा राख्नुभयो ।
पुस्तकका सम्पादक लालबाबु यादवले सार्कको दुईदिने गोष्ठीमा भएका सम्पूर्ण गतिविधि सबै राष्ट्रलाई उपयोगी हुने तरिकाले पुस्तकका रुपमा प्रकाशन गरेको बताउनुभयो । कार्यक्रममा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेस नेत्री सुजाता कोइराला, सार्क सचिवालयका महासचिव अम्जाद हसैनको उपस्थिति थियो । पुस्तकमा जनतादेखि जनतासम्मको सम्बन्धलाई अगाडि बढाउने, वैदेशिक रोजगार, आर्थिक विकास तथा संस्कृतिको विकासलगायतका गोष्ठीमा प्रस्तुत विषयवस्तुलाई समावेश गरिएको उल्लेख छ ।