काठमाडौँ, १६ पुस । वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभएको छ । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित तथा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको विमोचन कार्यक्रममा उहाँहरुले स्थायित्य र समृद्धिका लागि आफूहरुको चुनावी तालमेल भएको र जनताले बहुमत दिएकाले त्यसको अवमूल्यन नगरिनेमा जोड दिनुभएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता लम्ब्याउने तथा सानासाना नियुक्ति र रकम वितरणको काममा अल्झिएकामा आपत्ति जनाउँदै यस्तो खेलमा नलाग्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “वाम गठबन्धन सफल हुन नदिन धूमधाम खेल भइरहेको छ, पाँच वर्षका लागि प्रधानमन्त्री पद बाँड्न खोजिनु देश बनाउने होइन बिगार्ने प्रयास मात्र हो ।” अध्यक्ष ओलीले नेपाललाई आश्रित र दमित मुलुकका रुपमा नभई स्वाधीन मुलुकमा रुपमा अघि बढाउन भारत र चीन दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध विस्तार गरेर आगामी सरकार अघि बढ्ने जनाउनुभयो । उहाँले नेता गौतमको पुस्तकमा उल्लेख भए झैँ समृद्धिका लागि द्रुत गतिमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्व र विकासका लागि वाम गठबन्धनले ल्याएको बहुमत ऐतिहासिक अवसर भएकाले तीव्र गतिमा नेपाल निर्माणको महाअभियान सञ्चालन गर्न होमिनुपर्ने बताउनुभयो । उहाँले पुस्तकमा शान्ति प्रक्रियासम्म आफूहरु आइपुग्दाका प्रयासलाई पुस्तकले पर्याप्त समेट्न नसकेको तर आगामी विकासको बाटोलाई राम्रोसँग प्रस्तुत गरेको टिप्पणी गर्नुभयो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा विकासमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै पुस्तकले ती पक्षलाई सम्बोधन गरेको बताउनुभयो ।
उहाँले सम्पन्न निर्वाचनमा पैसाको खेल हुनु लोकतन्त्रको दुरुपयोग हो भन्नुभयो । लेखक गौतमले आफूले एक दशक लगाएर तयार पारेको पुस्तकको मूल भाव नेपालमा प्रशस्त सम्भावना भए पनि विकासबाट पछाडि पर्नुका कारण समेत खोतलिएको बताउनुभयो । बुक मार्ट प्रालिद्वारा प्रकाशित २३५ पृष्ठको उक्त पुस्तकमाथि साहित्यकार मोदनाथ प्रश्रित, संविधानविद् डा युवराज संग्रौला, पूर्वाधार विज्ञ डा सूर्यराज आचार्य, अर्थविद् डा डिल्लीराज खनाललगायतले टिप्पणी गर्नुभएको थियो । (श्रव्य सामग्री उपलब्ध छ)
Add Comment