अर्थ-स्वास्थ्य

नेपाल र नेपालीको पहिचान सगरमाथा : दाहाल

काठमाडौँ, १२ जेठ ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोही संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “आरोहणका क्रममा धेरै मानिसले जीवनको उत्सर्ग पनि गरेका छन् तर आरोहण अभियानबाट प्रकृतिसँग मानिसको संवाद वा अन्तक्र्रियासमेत बेजोडरुपमा अगाडि बढेको छ, नेपालको प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमासमेत भएको छ ।” अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन, विश्वभरिका जनताको एकता र गौरवलाई पनि सगरमाथाले केन्द्रित गरेको बताउनुभयो ।

सगरमाथा आरोही संघले मानवसेवा र सामाजिक सेवामा आरोहीहरुको योगदानलाई स्थापित गरेको भन्दै उहाँले उक्त कार्यको प्रशंसा गर्नुभयो । अध्यक्ष दाहालले सगरमाथा नेपालका पहिचान र गौरव भएकाले यसको अझै बढी प्रचारप्रसारको आवश्यकता रहेको बताउदै विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको धारणा व्यक्त गर्नुभयो ।