बजेट व्यावहारिक : प्रधानमन्त्री केपी शर्मा ओलीले
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताउनुभएको छ । संघीय संसद्को संयुक्त बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।” करको लक्ष्य कसरी हासिल हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्वलाई उठाइने बताउनुभयो । वुद्धभत्ता वृद्धि नभएको भन्ने सम्बन्धमा उहाँले अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रिययताका लागि नयाँ निर्णय नगरेको स्पष्ट पार्नुभयो ।
कार्यान्वयन हुन कठिन : सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताउनुभएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।” सोही पार्टीका नेता डा मीनेन्द्र रिजालले बजेट सुन्दा दिउँसै सपना देखेको जस्तो लागेको बताउँदै सबै सरकारको हिस्सा जोड्दा बजेटको आकार ठूलो भएको, केन्द्र सरकारले उठाउने राजस्वबारे मात्रै उल्लेख भएर आएको तथा राजस्व संकलनको स्पष्ट मार्ग नदेखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा करीब २०/२२ प्रतिशतको हाराहारीमा राजश्व उठेकामा नौ सय ४५ अर्बको राजश्व उठ्न गाह्रो हुन्छ, उठाउनुस् हाम्रो शुभकामना छ, विदेशी सहयोग र ऋण भनेजति आउने सम्भवना पनि छैन ।” डा रिजालले स्थानीय तह र प्रदेशमा लगानीका लागि कस्तो नीति अपनाउने भन्ने स्पष्ट नभएको उल्लेख गर्दै पाँच लाखलाई रोजगारी दिने घोषणा असम्भव रहेको टिप्पणी गर्नुभयो । काँग्रेसकै नेता गगन थापाले सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरङ्ग ल्याउने र जोखिम मोल्ने प्रकारको नभएको बताउनुभयो ।
बजेट राष्ट्र र जनताका पक्षमा : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बजेट राष्ट्र र जनताका पक्षमा रहेको बताउनुभएको छ । संघीय संसद्को आजको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो बजेटमा हुने छलफलमा पूर्ण प्रतिक्रिया प्राप्त हुने उल्लेख गर्नुभयो ।
उत्पादकत्व वृद्धिका लागि सकारात्मक : नेता नेपाल
नेकपा कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले रोजगार सिर्जना र उत्पादकत्व वृद्धिका लागि सरकारको बजेट सकारात्मक रहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो, “बजेट राम्रो छ । पूर्वाधार विकास, ऊर्जा, पर्यटन, स्वास्थ्य, रोजगार, कृषिलाई प्राथमिकता दिइएको छ । रोजगार सिर्जना र काम दिने उल्लेख गरिएको छ । जनशक्ति र उत्पादकत्व बढाउने विषयमा केन्द्रित छ ।”
Add Comment