Uncategorized

विद्युत् र इन्टरनेट सेवा ठप्प हुँदा सेवाग्राहीलाई समस्या

ताप्लेजुङ । जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् । केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा आएको खराबीका कारण शुक्रबारदेखि नै विद्युत् आपूर्ति भएको छैन ।

इलाम क्षेत्रमा अप्टिकल फाइबरमा आएको खराबीका कारण शनिबारदेखि इन्टरनेट (एडिएसएल) सेवासमेत ठप्प छ । विद्युत् र इन्टरनेट दुई वटै सेवा बन्द भएपछि रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत समस्यामा परेका छन् । विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार शनिबार बिहानैदेखि प्राविधिकहरु खटिए पनि खराबी पत्ता लाग्न नसकेको र दुईवटै सेवा सञ्चालन हुन समय लाग्ने देखिएको बताइएको छ ।

फोहोर पानी खान बाध्य सदरमुकामवासी : यसैगरी खाने पानीको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष वर्षात्को समयमा धमिलो पानी उपभोग गर्न बाध्य हुँदै आएका जिल्ला सदरमुकामवासी यो वर्ष पनि फोहर पानी खान बाध्य भएका छन् ।

वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहान व्यवस्थित र दिगो नभएकाले वर्षात्को समयमा धमिलो तथा फोहोर पानी आउने गरेको छ । हिउँदका महिनामा पनि फोहोर मिसिएको र वर्षात्का समयमा पनि भल मिसिएको पानी उपभोग गर्नु पर्दा समस्या भएको स्थानीयवासीहरूले बताए ।

यो वर्ष पनि जेठदेखि नै ठूलो वर्षा हुनासाथ धमिलो पानी आउने गरेको छ । नजिकै धारा तथा कुवा हुनेले त्यहाँको पानी बोकेर उपभोग गर्दै आए पनि अन्यले भने धमिलो पानीलाई उमालेर वा फिल्टर गरेर पिउने गरेका छन् । फोहोर पानी उमालेर वा फिल्टर गरेर पिउँदा पनि कहिलेकाहीँ स्वास्थ्यमा नै समस्या आउने गरेको स्थानीयवासीको भनाइ छ ।सदरमुकाम नजिकै पर्ने हाङ्देवास्थित देवीखोलाको पानी जम्मा गरेर सदरमुकाममा वितरण गरिँदै आएको छ ।