स्पोर्ट-मनोरञ्जन

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रममा लामिछाने उत्कृष्ट चुनिँदै ‘वर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् ।

अवार्ड जित्ने क्रममा लेग स्पिनर लामिछानेले कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारेका थिए । वर्ष क्रिकेट खेलाडीको अवार्डसँगै सन्दीपले रु एक लाख ३२ हजार प्राप्त गरेका छन् । लामिछाने अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन् । उनको अवार्ड कप्तान पारसलाई प्रदान गरिएको थियो । तीन वर्षअघि नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका लामिछानेले आइपिएलपछि क्यारिबियन प्रिमिएर लिग (सिपिएल), बिग बास लिग अष्ट्र«ेलिया, क्यानडाको ग्लोबल टी–२०, अफगानिस्तानको प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिगमा समेत आफ्नो प्रतिभा देखाइसकेका छन् ।