दैलेख । कर्णाली राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुरुले ज्यान गुमाउनुपरेको छ । जसकारण यसले मृत्युमार्गको उपमा पाएको छ । अहिले यो राजमार्ग ठेकेदारका लागि दुहुनो गाई बराबर भएको छ । कर्णाली राजमार्ग २३ चैत २०६३ बाट विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा आएको थियो । सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्ला पुग्ने कर्णाली राजमार्गको लम्बाइ २३२ किलोमिटर छ ।
वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मेका कारण यात्रुहरूले सधैजसो समस्या भोग्दै आएका छन् । सरकारले २३२ किलोमिटर सडक पिच गरेको बताउँदै आएको छ । तर, राजमार्गका खाल्डाखुल्डीले यातायातका चालकलाई दिनहुँ हैरानी खेप्नुपरेको छ ।
सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् । ठाउँ–ठाउँमा सडक हिलाम्मे बनेको छ भने कयौँ स्थानमा सडक भासिएको छ । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । ‘बनेका काम पनि गुणस्तरहीन हुँदा सडक जीर्ण बनेको हो,’ दैलेखका पदम थापाले भने, ‘निर्माणका लागि वार्षिक बजेट आए पनि टालटुलमै सकिन्छ । सरकाररले पनि वर्षकै बजेट छुट्याउँदा ठेकेदारका लागि दुहुनो गाई भएको छ ।’
बाटो साँघुरो भएका कारण यो राजमार्गमा यात्रा गर्नेको मुटु नझस्किने सायद कमैको होला । कोहलपुरबाट दैलेख जाँदै गरेका वीरेन्द्र चौधरीले भने, ‘यात्रा गर्दा पनि घर पुग्छु भन्ने विश्वास लाग्दैन । होसहवासै हराउँछ ।’ कर्णाली राजमार्गबारे अरूले कुरा गरेको सुने पनि आफैंले भोग्दा डर लागेको चौधरीले बताए । ‘पहिले कर्णाली राजमार्गको नाम सुन्दा कस्तो होला भन्ने लाग्थ्यो,’ चौधरीले भने, ‘प्रत्यक्ष आफैंले यात्रा गर्दा त ज्यानै जाला भन्ने डर लाग्यो ।’
ट्रयाक खोलेको डेढ दशक पुग्दा पनि सडकको अवस्था सुधार हुन नसकेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका–३ का हिमाल शाहीले बताए । राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन ।
कर्णाली राजमार्गका लागि प्रदेशबाट कुनै कार्यक्रम नरहेको र यो संघीय सरकारले हेर्ने भएकाले यस विषयमा कुनै जानकारी नभएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।- जितेन्द्र थापा / न्युज कारखाना
मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने, संसदको सामना गर्ने
न्युज कारखाना
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका हुन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिनेसमेत बताएका छन् ।
आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ ।
एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूप्रति भने आचार्यले उनीहरूले आफनो अधिकार प्रयोग गरेको टिप्पणी गरे ।
प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन् । जसमध्ये एमालेका ५१ ९विभाजनअघि०, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एकएक जना सांसद छन् ।
बहुमतका लागि प्रदेश सभामा ४७ मत चाहिन्छ । यस्तो अवस्थामा साना दुई दलको समर्थनले पनि एमालेलाई सरकार बचाउन पर्याप्त देखिँदैन । आजको एक महिनाभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
काठमाडौंमा निषेधाज्ञा खुकुलो, विद्यालयबाहेक सबै क्षेत्र खुला, चाडपर्व मनाउन छुट
काठमाडौं । जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा विद्यालयबाहेक अरु क्षेत्र स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न अनुमति दिइएको छ । चाडपर्व मनाउन छुट दिइएको छ ।
प्रशासनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन र अनावश्यक भिडभाड गर्नबाहेक अन्य क्षेत्र खुला गरेको हो । पछिल्लो निषेधाज्ञामा चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन भनिएको छ ।
त्यसैगरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने भनिएको छ ।
स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्मबाहेक गर्न पाउने भनिएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने भनिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण दर स्थिर रहेकाले निषेधाज्ञा केही खुकुलो बनाइएको बताए ।
Add Comment