स्पोर्ट-मनोरञ्जन

साफ च्याम्पियनसिप : नेपालसहित माल्दिभ्स र श्रीलंकाको बन्द प्रशिक्षण कतारमा

काठमाडौं ।  आगामी पुरुष साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीसहित साफ आयोजक माल्दिभ्स र श्रीलंकाले कतारमा बन्द प्रशिक्षण गर्ने भएका छन् । साफ १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको राजधानी मालेमा हुँदैछ । साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंकाको सहभागिता जनाउने छन् ।

कोरोनाका कारण भुटानले नाम फिर्ता लिएको छ भने फिफा प्रतिबन्धका कारण पाकिस्तानले सहभागीता जनाउन पाउने छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई हिजो (बिहीबार) बिदाइ गरेको होे । नेपाली टोली आज बिहान ११ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल जस्तै माल्दिभ्स समेत आज (शुक्रबार) नै कतार प्रस्थान गरेको छ । माल्दिभ्स एफएले साफको बन्द प्रशिक्षण कतारमा हुने जनाएको हो ।  यता श्रीलंकाले भने कतार पुगेसँगै प्रशिक्षण सुरुवात गरिसकेको छ । नेपालसहित  माल्दिभ्स र श्रीलंकाले  कतारमा १६ दिन प्रशिक्षण गर्ने छन् । कतार भ्रमणबाट तिनै टोली २७ सेप्टेम्बरमा माल्दिभ्स पुग्ने कार्यक्रम छ  ।

यता, नेपालले गत १७ र २० भदौमा साफ च्याम्पिनसिप तयारी लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंशगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा समाप्त भएको थियो । दोस्रो खेल भारतले २-१ गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।

कतार भ्रमण तयसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २१ भदौमै कतार प्रस्थान गरेका थिए । कतार भ्रमणमा टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध हुने छैनन् । उनी इन्डोनेसियाको लिग वान खेल्न व्यस्त छन् । उनी साफ अगाडि टोलीमा जोडिने छन् । अन्य खेलाडी भने भारतविरुद्ध मैत्रीपूर्ण खेलेका खेलाडी नै हुने छन् ।-न्युज कारखाना