स्पोर्ट-मनोरञ्जन

महिला फुटबल टोलीलाई प्राकृतिक मैदानको प्रशिक्षण कमी

काठमाडौं । डेब्यु खेलमै एक गोलसहित ‘मोष्ट भ्यालुएवल प्लेयर’ घोषित भएकी प्रीति राईले पहिलो पटक दशरथ रंगशालामा खेलेकी थिइन् । घासे मैदान (प्राकृतिक मैदान) मा ९० मिनेट खेले पनि सुरुवातमा भने उनलाई दशरथ रंगशालामा खेल्न निकै गाह्रो भयो । तर उनले आफूलाई समाल्दै लयमा फर्किन् ।

यसअघि ‘आर्टिफिसियल टर्फ’ (कृतिम घाँसे मैदान) मा प्रीतिसहित नेपाली टोलीले प्रशिक्षण गरेको थियो । नेपाली टोली ३ दिनको प्राकृतिक मैदानमा प्रशिक्षण गरेर अन्तर्राष्ट्रियस्तरको रंगशाला पुगेको थियो । जसका कारण कुनै पनि खेलाडीले आफ्नो स्तरको खेल दिन सकेनन् । सबै खेलाडीले आफूलाई खेल्न गाह्रो भएको महसुस गरे ।

त्यसैले होला बंगलादेशले सुरुवाती पूरा १० मिनेट नेपाललाई दबाबमा राख्यो । उसले यो १० मिनेट पुरा नेपालको भागमा खेल्यो । यद्यपि पोष्ट प्रहार भने भएनन् । सुरूवातमै बंगलादेशले सुधारिएको खेल प्रदर्शन गरेको थियो । नेपाली खेलाडी बंगलादेशको बल खोस्नमै केन्द्रीत रहे ।

जब डेब्यु खेलाडी सविता राना मगरले लेफ्ट विंगर विमला चौधरीको पासमा सिक्स यार्ड बक्स नजिकैबाट हेडिङ गोल गरिन् तब नेपालले आफ्नो लय समात्यो । २३ मिनेटमा प्रीति राईले गोल गरिन् । खेल नेपालले २–१ गोल अन्तरले जित्यो ।

खेलपछि बोल्दै प्रीतिले प्राकृतिक घाँसे मैदानमा खेल्न कठिन भएको बताइन् । यद्यपि उनले लय फर्काउँदै आफू सोही मैदानमा अभ्यस्त भएको प्रतिक्रिया दिइन् । ‘आज खेल्न गाह्रो भयो । हामीले टर्फमा अभ्यास गरेका थियौं । खेल्न गाह्रो भए पनि खेलिरह्यौं,’ पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाई प्लेइङ सेटमै गोल गरेकी १६ बर्षे प्रीतिले भनिन् ।

रंगशालामा खेल्नुअघि नेपाली टोलीले ३ दिन आर्मी हेडक्वार्टर भन्द्रकालीको प्राकृतिक दुबोमा तयारी गरेको थियो । तर त्यो मैदानसमेत स्तरीय नभएको प्रीतिले बताइन् ।

यता, मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीलाई मैदानमा खेल्न गाह्रो भएको बताए । उनले टर्फबाट प्राकृतिक मैदानमा खेल्दा खेलाडीलाई समस्या भएको कारण देखाउँदै गोल संख्यासमेत बढ्न नसकेको बताए । ‘हामीले लामो समय टर्फमा अभ्यास गर्‍यौं । त्यसैकारण हामी थाक्यौं,’ अष्ट्रेलियन नागरिक ग्यारीले भने ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साउन पहिलो साता ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । दोस्रो चरणको छनोटपछि प्रशिक्षक ग्यारीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा ७ नयाँ अनुहारले स्थान बनाएका थिए । त्यसयता नेपालले दिनको दुइपटक सातदोबाटोस्थित एन्फा मुख्यालयको टर्फमै अभ्यास गरेको थियो ।

बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा प्रीति र सविता राना मगरसहित डिफेण्डर सृजना सिंह ठकुरी र स्ट्राइकर रश्मी घिसिङले दोस्रो हाफको अन्त्यमा डेब्यु गरे । दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । जसमा डिफेण्डर विमला विक, निशा थोकर र स्ट्राइकर रजनी थोकरले डेब्यु गर्ने सम्भावना छ ।

नेपालले एएफसी महिला एसिया कप २०२२ छनोट तयारी स्वरुप बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । समूह एफमा रहेको नेपालले पहिलो खेल १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।

प्रतियोगिता नजिकिँदै गर्दा हालसम्म नेपाल प्राकृतिक मैदानमा अभ्यस्त हुन पाएको छैन । उज्वेकिस्तानमा हुने दुबै खेल नेपालले प्राकृतिक मैदानमा खेल्नुपर्ने हुन्छ । तर प्राकृतिक मैदानको अभ्यास अभावमा नेपाली टोलीले कस्तो प्रदर्शन गर्ला त्यो भने केही समयपछि नै थाहा होला ।

तर महिला खेलाडीको माग नै अहिले प्राकृतिक मैदानको छ । बंगलादेशविरुद्ध मैदानकै कारण खेल्न समस्या भएको अर्काे खेलाडीको गुनासो छ । ‘मैदानको कारण पनि हामीले राम्रो प्रदर्शन गर्न सकेनौं । तयारी टर्फमा गरेर भिजेको दुबो र माटोमा खेल्न गाह्रो हुन्छ । आगामी दिनमा यस्तै (प्राकृतिक) मैदानमा अभ्यास गर्न पाए पक्कै राम्रो हुन्थ्यो,’ एक खेलाडीले भनिन् ।-रमेश सुवेदी/न्युज कारखाना